धरान । सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । अन्तिम नतिजा अनुसार यस क्षेत्रमा श्रम संस्कृति पार्टी पहिलो दल बनेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार श्रम संस्कृति पार्टीले ३२ हजार २ सय ३० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । सो पार्टीले ३० हजार ३ सय ६९ मत प्राप्त गरेको छ ।

ठूला भनिएका दलहरू भने यस क्षेत्रमा निकै पछाडि परेका छन् । नेकपा एमालेले ७ हजार ८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ४ हजार ९ सय ९२ मत पाएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ९ सय २८ र राष्ट्रिय प्रजातन्त्र पाटीले २ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी क्षेत्र नं. १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका थिए । तीमध्ये ८८ हजार ५ सय २ मत खसेको थियो । खसेको मतमध्ये ८५ हजार ३ सय ८२ मत सदर भएको छ भने ३ हजार १ सय २० मत बदर भएको छ । धरान उपमहानगरपालिका समेटिएको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयरमा निर्वाचित भएपछि वैकल्पिक राजनीतिक शक्तिको प्रभाव बढ्दै गएको चर्चा हुँदै आएको छ । समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेपछि सो प्रभाव अझ स्पष्ट देखिएको छ ।
