जानकी मन्दिर दर्शन गर्न गएका राजा ज्ञानेन्द्र शाहको स्वागतमा लाखौँ सर्वसाधारण राजा आउ देश बचाउको नारा घन्कियो : पहिलो पटक पूजारीद्वारा प्रतिमा दिँदै शुभाशीर्वाद प्रदान

धरान । माघ १२ गते जनकपुरको जानकी मन्दिरको दृश्यले मुलुकको राजनीति परिवर्तनको संघारमा पुगेको आँकलन गर्न थालिएको छ । राजा ज्ञानेन्द्र शाह स्थलमार्ग हुँदै जनकपुरस्थित जानकी मन्दिर दर्शन गर्न जनकपुर पुग्दा लाखौँको संख्यामा उपस्थित आम सर्वसाधारण नागरिकले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता गगनभेदी नारा लगाएका थिए । राजा शाह आइतबार लहान, चोहर्वा, ढल्केबर हुँदै जनकपुर पुग्दा सडकमा लामबद्ध नागरिकहरूले फूल, खादा दिएर स्वागत गरेका थिए । राजा शाहको स्वागतमा देखिएको नागरिकको अपार भीड स्वस्फूर्त थियो । उक्त भीड नेपाली समाजको एउटा गहिरो मनोविज्ञानको अभिव्यक्ति थियो । भीडमा आएकाहरुलाई न मदिरा, न मासु भात, न कुनै आर्थिक प्रलोभन थियो । न त पद, शक्ति वा स्वार्थको आशा । उपस्थिति आम सर्वसाधारणमा केवल देशप्रतिको निःस्वार्थ भाव, राष्ट्रिय पहिचानप्रतिको चेतना र आफ्नो राष्ट्रिय अभिभावकप्रतिको सम्मानले एकत्रित भएको थियो । उक्त भीड दलीय राजनीतिले निर्माण गरेको थिएन, न त कुनै संगठनको दबाबमा जम्मा भएको थियो । आम सर्वसाधारण नागरिकको स्वस्फूर्त सहभागिता थियो । जहाँ नेपाली हुनुको गर्व, सामाजिक समरसता र ऐतिहासिक चेतनाले मानिसलाई एउटै ठाउँमा उभ्याएको थियो । सोमबारको भीडले आजको विभाजित र स्वार्थकेन्द्रित राजनीतिमा यस्ता दृश्य दुर्लभ बन्दै गएको छ । हुन त राष्ट्रभक्ति नारामा सीमित हुँदैन, न त लोभ र लाभका आधारमा मापन गर्न सकिन्छ । जनकपुरधाममा देखिएका उपस्थितिले स्पष्ट सन्देश दिएको छ देश अझै बाँचेको छ, राष्ट्रिय चेतना अझै जीवित छ र नेपाली समाज दलीय सोचभन्दा धेरै गहिरो र फराकिलो छ ।
मधेशमा गुञ्जियो आवाज
राजा ज्ञानेन्द्र शाह रामजानकी मन्दिर परिसरमा पुग्दा उहाँका पक्षमा लाखौँ जनता सडकमा आएकोप्रति स्वतन्त्र राजनीतिक विश्लेषकहरूले पृथ्वीनारायण शाहसँग जोडेर व्याख्या गरेका छन् । जनकपुरका राम आशिष साह भन्नुहुन्छ पृथ्वीनारायण शाह वंशको विरासत बोकेको राजा हो । यही दृष्टिले जनताले उहाँको गगनगान गाइरहेका छन् । नागरिक भीड अत्याधिक देखिएकोप्रति जनकपुरमै रहनु भएका राजसंस्था पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्दै आउनु भएका अभियन्ता पशुपति खड्काले भन्नुभयो अब पनि परिचालितहरूले नबुझ्ने हो भने नेपालमा राजसंस्था स्थापनाको लागि शान्तिपूर्ण सडक आन्दोलनको विकल्प छैन । भोट हालेर हुँदैन । अहिले चुनावमा होमिएका राजनीतिक दलहरूले आफ्नै देशको राष्ट्रिय झण्डा बिसेर पार्टीको झण्डा बोकेर स्वार्थमा लागेका युवाहरुलाई म बाटो नबिराउन अनुरोध गर्दछु । भदौ २३ र २४ गतेको आन्दोलनमा जनजी युवाहरूले अब मुलुकमा राजनीतिक पार्टी चाहिँदैन भनेर उनीहरूका पार्टी कार्यालयमा आगो लगाएको, दलका नेताहरुलाई भाग्न बाध्य बनाएको, सत्ताबाट विस्थापित गराएको स्मरण गर्न पनि उहाँले सुझाव दिनुभयो । आज पुनः त्यही पार्टी, तिनै नेताको पछि किन लाग्नु हुन्छ भन्दै देश र जनताको माग बुझ्न पनि आग्रह गर्नुभयो । देश र जनताको माग भनेको राजा हो । जनताले अब पनि आँखा नखोल्ने हो भने पछुताउनुको विकल्प छैन ।
राजा शाहलाई चाँदीको प्रतिमा उपहार


राजा ज्ञानेन्द्र शाहलाई भगवान राम र माता सीता अंकित जानकी मन्दिरको स्वरूप भएको फ्रेम गरिएको चाँदीको प्रतिमा मन्दिरका मूल पुरोहित राम तपेश्वर दासले प्रदान गर्नुभएको थियो । मन्दिर प्रवेशसँगै राजा शाहले झण्डै एक घण्टा पूजा गर्नुभएको थियो । पूजा समाप्तिपश्चात मन्दिरका मूल पुरोहित दासले प्रतिमा उपहारसँगै शुभाशीर्वाद दिनुभएको थियो । सो अवसरमा पुरोहित दासले मुलुकमा पुनः शान्ति स्थापना होस्, राजसंस्थाको स्थापना होस्, २०४७ सालको संविधान कायम होस्, नागरिकहरू शान्तिसँग बाँच्न पाऊन् । मन्दिरको दर्शन गरेर बाहिर निस्कनु भएका राजा शाहलाई सञ्चारकर्मीहरूले सोधेको जिज्ञासामा हाँसी हाँसी यो धार्मिक स्थल हो, धर्मको मात्र कुरा गर्दा उचित होला कि भन्ने जवाफ दिनुभएको थियो । पत्रकारहरूको राजनीतिक जिज्ञासाका सवालमा उहाँले कुनै उत्तर दिनु भएको थिएन ।
सुरक्षा व्यवस्था अत्यन्तै कडा
राजा शाह जनकपुर जाने कार्यक्रम तय भएपछि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो । सुरक्षाका लागि नेपाली सेनाका सादा पोसाकका जवानहरूले जनकपुर प्रवेश गर्ने र बाहिरिने सवारी साधनहरूको सूक्ष्म ढंगले चेकजाँच र निगरानी गरेका थिए । यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरू समेत सुरक्षा व्यवस्थालाई चुस्त बनाउन खटिएका थिए । हिन्दु राष्ट्र स्थापनाका अभियन्ताहरू, शिव सेना नेपालका कार्यकर्ताहरू समेत सुरक्षाप्रति संवेदनशील भएर खटिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा शाहको स्वागतका लागि एक हजार १ जनाको मूल समिति नै बनाएको थियो भने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका स्वयंसेवकहरू समेत ठूलो संख्यामा खटिएका थिए ।
प्रधान सेनापतिको वक्तव्य
राजा ज्ञानेन्द्र शाह जनकपुर जानु भन्दा केही दिन अगाडि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले एक सन्देश जारी गर्नुभएको थियो ।
सन्देशमा उहाँले मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको भन्दै राजालाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको थियो । उहाँले देशको राजनीति तथा
सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेकोले राजालाई केन्द्रमा राखेर सन्तुलित राज्य संरचना बनाउनुपर्ने बताउनु भएको थियो । शान्ति, स्थिरता र राष्ट्रिय सुरक्षाका लागि यो बेला यही विकल्प उपयुक्त भएको सन्देश दिनु हुँदा नेपालका राजनीतिक वृत्तमा उहाँको सन्देशले चर्चा पाएको थियो ।

तपाईको प्रतिक्रिया