काठमाडौं । । आगामी फागुन २१ गते हुने निर्वाचनलाई आवश्यकीय सहयोग पु¥याउने उद्देश्यले भारत सरकारद्वारा निर्वाचन प्रयोजन सम्बन्धी पहिलो किस्ता सामग्रीहरू उपहारस्वरुप प्रदान गरेको छ । माघ ६ गते मंगलबार गृहमन्त्रालय काठमाडौंमा आयोजित विशेष समारोहबीच ती सामग्रीहरू गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणमा नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले उपहार स्वरुप प्रदान गरिएका सवारी साधन र अन्य निर्वाचन प्रयोजनका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभएको थियो । उहाँले भारत र नेपालबीचको गहिरो तथा व्यापक सम्बन्धको प्रशंसा गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


जारी विज्ञप्तिमा भनिएको छ नेपाल सरकारको अनुरोधको आधारमा भारतले सन् २००८ देखि नेपाललाई चुनावी सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ । यसमा भारत सरकारले निर्वाचन आयोग लगायत विभिन्न मन्त्रालय र विभागहरूलाई उपहारस्वरुप प्रदान गरेको लगभग २ हजार ४ सय सवारी साधन रहेका छन् । आगामी फागुन २१ गते भारत सरकारले नेपाललाई ३५० वटा सवारी साधनहरू सहयोग गर्ने र बाँकी केही हप्ताभित्रैमा आइपुग्ने विज्ञप्तिमा जनाइएको छ । भारत पक्षबाट जारी सहयोग र समर्थन दुवै देशबीचको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिविम्ब मात्र होइन, भारत र नेपालका जनताबीचको गहिरो पारस्परिक विश्वास एवम् मित्रताको प्रतीक समेत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


