दुर्घटनामा पाँचको मृत्यु बाह्र घाइते

धरान । धरान उपमहानगरपालिका वडा नं. १३ को जिरोप्वाइन्टमा आइतबार अपराह्न भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको र १२ जना गम्भीर घाइते भएका छन् । दुई वर्ष अगाडि समेत सोही स्थानमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको र कैयौँ घाइते भएका थिए । कोशी राजमार्गको भेडेटारबाट आउँदै गरेको जनकपुरस्थित टाइम्स इन्टरनेशनल एकाडेमीको को १ ख ७११९ नम्बरको बस अनियन्त्रित भएर मोडमा रहेको न्यू सीमा मेडिकल हलमा गएर ठोक्किएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटना भएको बस ब्रेक फेल भएर दुई वटा चक्कामा मात्र गुडेको क्षणभरमै मेडिकल हलमा ठोक्किएर सडकमै उत्तानो परेको थियो । तत्काल प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भएपनि घटना स्थलमा च्यापिएर तीन जनाको र दुई जनाको उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँदा बाटैमा मृत्यु भएको थियो ।

अत्यन्तै कहालीलाग्दो र भयावह रूपमा भएको उक्त दुर्घटनामा मृत्यु भएकाहरूको अङ्गहरू प्रहरीले सङ्कलन गरेको थियो । दुर्घटनामा मृत्यु हुनेहरूमा बसमा यात्रीका रूपमा रहेका दुई जना र मेडिकल हलमा औषधि खरिद गर्न आएका दुई जना र एक जना सोही स्थानमा बसिरहेको अवस्थामा बसले किचेका थिए । मृत्यु हुनेमा महोत्तरी गैडादेवपुर ८ का रोहितकुमार मण्डलका १८ महिने छोरा, सोही ठाउँका ३१ वर्षीय घैरीकुमार यादव, बराहक्षेत्र ३ का २० वर्षीय ओमेश राई, झापा मेची नगरपालिकाका १९ वर्षीय नयन थापा मगर र मेडिकल सञ्चालिका २४ वर्षीया सुवेक्षा सुब्बा रहेका छन् । घाइते हुनेहरूमा जनकपुर १२ की रिना मण्डल, धनौडी २ का जितेन्द्र मण्डल, बस चालक महोत्तरीका मोहम्मद मुलाल, जनकपुर १ की सुनेनादेवी मण्डल, जनकपुर ५ का कृष्ण मण्डल, लक्ष्मी मण्डल, राजाबाबु, मनितादेवी मण्डल, पुनिता मण्डल, यसोदा श्रेष्ठ, रोहन मण्डल र रोहित मण्डल रहेका छन् ।

तपाईको प्रतिक्रिया