तोरी फुलको मौसमः मौरीपालकका लागि सुनौलो अवसर

धरान । अहिले तराईका खेतबारी ढकमक्क तोरीले फुलेका छन् । चारैतिर पहेँलो फूलले ढाकिएको दृश्यले वातावरणलाई मनमोहक बनाएको छ । यही सौन्दर्यलाई क्यामेरामा कैद गर्न टिकटक र सामाजिक सञ्जालका प्रयोगकर्ताको घुइँचो लागिरहेको छ । तर, कतिपय कृषकका लागि भने यो मौसम रमाइलो दृश्यभन्दा पनि आम्दानीको सुनौलो अवसर बनेको छ । उनीहरू तोरी फुलेको सिजनलाई मौरी चरणको उत्तम समयका रूपमा प्रयोग गर्दै मह उत्पादन बढाउन जुटिरहेका छन् । इटहरी–४ का भैरव पौडेल विगत २०६० सालदेखि मौरी पालन गर्दै आउनु भएको छ । मौरी पालनबाटै जीवन गुजारा गर्दै आउनु भएका पौडेलका लागि यो पेशा आत्मनिर्भर बन्ने आधार बनेको छ । मौरी पालन गरेपछि रोजगारी खोज्दै भौतारिनु नपर्ने उहाँ बताउनुहुन्छ । तोरी फुलेको बेला मौरीलाई चरनका लागि उपयुक्त स्थानमा लैजानु नै आफूहरुको मुख्य काम हुने उहाँ बताउनुहुन्छ ।

यसैक्रममा उहाँले आफ्नो मौरी घार सुन्दरहरैचा नगरपालिका–८, सलकपुर क्षेत्रमा सवारी साधन रिजर्भ गरेर ल्याउनु भएको छ । उहाँ मात्र होइन, धेरै मौरीपालक कृषकहरू यही मौसममा मौरीलाई चरनका लागि सार्ने गर्छन् । चितवनमा मौरी पालनसम्बन्धी तालिम लिएपछि गोदावरीलगायत विभिन्न स्थानमा थप सीप हासिल गर्नु भएका पौडेलले सुरुमा एक–दुई घारबाट मौरी पालन थाल्नु भएको थियो । अहिले उहाँसँग ५० घार पुगेका छन् । उहाँले सबैको बारीमा तोरी ढकमक्क फुलेकोले यो सिजन मौरी चरनका लागि अत्यन्त उपयुक्त समय भएको बताउनुभयो । उहाँका अनुसार इटहरीमा अहिले ४० देखि ५० घरधुरीले मौरी पालन गरेर जीविकोपार्जन गरिरहेका छन् । मौरी पालन मह उत्पादनमा मात्र सीमित छैन । महसँगै मैन, मौरी आफैंको खरिद–बिक्री, साथै चोप, रोयल जेली जस्ता मूल्यवान उत्पादन पनि बजारमा बिक्री गर्न सकिन्छ । मेलिफेरा जातको मौरी पालन गर्दै आउनु भएका पौडेलका अनुसार व्यवसायिक रूपमा मौरी पालन गरेमा राम्रो आम्दानी लिन सकिन्छ । देशभर मौरीपालक कृषकको संख्या पनि बढ्दो क्रममा छ । राष्ट्रिय तथ्यांक कार्यालयको सातौँ राष्ट्रिय कृषि गणना (२०८० भदौ) अनुसार नेपालभर करिब १ लाख ९७ हजार किसान मौरी पालनमा संलग्न छन् । तीमध्ये १० भन्दा बढी घार राखेर व्यवसायिक रूपमा मौरी पालन गर्ने करिब २ हजार १७५ जना कृषक छन्, जसले १ लाख १५ हजारभन्दा बढी घार व्यवस्थापन गरिरहेका छन् । अन्य स्रोतहरूले पाँच हजारभन्दा बढी पञ्जीकृत मौरीपालक रहेको पनि उल्लेख गरेका छन् । सुनसरी जिल्लामा मात्रै करिब ३५० जना व्यावसायिक मौरीपालक रहेको अनुमान छ । उनीहरूले ८ हजार ५सय देखि १० हजारसम्म घार व्यवस्थापन गर्दै आएका छन् । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, झुम्का (सुनसरी) ले मौरी पालनलाई प्राथमिकतामा राख्दै नियमित तालिम सञ्चालन गर्दै आएको छ । केन्द्रका अनुसार पछिल्लो समय युवाहरू मौरी पालनतर्फ आकर्षित बन्दै गएका छन् । कम लगानीमा सुरु गर्न सकिने, स्थानीय स्रोत साधनमै आधारित र राम्रो आम्दानी दिन सक्ने भएकाले मौरी पालन ग्रामीण अर्थतन्त्रको सशक्त आधार बन्दै गएको छ । तोरीले पहेँलो बनेको तराईका खेतबारी अहिले केवल दृश्य सौन्दर्य मात्र होइन, मौरीपालक कृषकका लागि आशा र समृद्धिको प्रतीक पनि बनेका छन् ।

तपाईको प्रतिक्रिया