सुनसरी क्षेत्र नं. ४ नेपाली का“ग्रेसमा उमेद्वार सिफारिसमा विवाद

आगामी फागुन २१ गते हुने भनिएको संघीय सांसदको निर्वाचनमा यतिबेला आकांक्षी उम्मेद्वारहरूको क्षेत्रीय कमिटीहरूबाट धमाधम नामहरू सिफारिस भएका छन् । कोशी प्रदेशका अन्य जिल्लामा आकांक्षीहरूको नाम सिफारिसको क्रममा सामान्य विवाद भए पनि सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा भने विवाद सतहमा आएको छ । यसभन्दा अगाडिका निर्वाचनमा पैसा र पदका आडमा भोजपुरबाट सुनसरी क्षेत्र नं. ४ आएर आफ्नो उम्मेदवारी दिएका ज्ञानेन्द्रबहादुर कार्कीको नाम पुनः सिफारिस गरिएपछि उक्त क्षेत्रका कार्यकर्ताहरूबीच विवाद चुलिएको हो । ठेकेदार पृष्ठभूमि भएका क्षेत्रीय सभापति आयुव अन्सारीले ज्ञानेन्द्रबहादुर कार्कीको नाम प्राथमिकताका साथ एक नम्बरमा सिफारिस गरेपछि अन्य कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् । २०७९ को निर्वाचनमा समेत अधिकांश स्थानीय कार्यकर्ताले कार्कीको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै असहयोगको रणनीति लिएका थिए । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा क्षेत्रीय अध्यक्ष एवम् कार्कीकै आशिर्वादमा राम्रो ठेक्कापट्टा हात पार्दै आएका अयुव अन्सारीले बलमिच्याइँ ढङ्गले कार्कीको नाम एक नम्बरमा सिफारिस गरेका थिए । विगत ५ दशकभन्दा लामो समयदेखि उक्त क्षेत्रमा संगठन गर्दै आएका सत्ता र शक्तिभन्दा पर रहेका इमानदार, जुझारु कार्यकर्ताहरू यतिबेला पाखा लागेका छन् । कार्की भोजपुरका स्थायी बासिन्दा हुन् । तर उनको ल्याकत भोजपुरमा वडाध्यक्षमा जित्ने समेत नभएपछि छल, बल, कपटपूर्ण ढङ्गले केन्द्रीय नेतृत्वको दबाब, पैसामा पछि लाग्ने डन प्रवृत्तिका केही झोले कार्यकर्ताहरूलाई हातमा लिएर सुनसरी क्षेत्र नं. ४ मा आइपुगेका हुन् । सुनसरी क्षेत्र नं. ४ अन्य क्षेत्रको तुलनामा नेपाली काँग्रेसका लागि सुरक्षित क्षेत्र मानिन्छ । यसै क्षेत्रबाट विगतमा गिरिजाप्रसाद कोइराला, डा. खलिल आजाद, हरि सापकोटा, हरिनाथ वास्तोला लगायतले निर्वाचनमा विजय हासिल गरेका थिए । कार्कीको नाम सिफारिस भएपछि असन्तुष्टि जनाएर विरोध गर्ने स्थानीय नेता कार्यकर्ताहरूलाई क्षेत्रीय अध्यक्ष अन्सारीले अरूले यहाँबाट कसरी चुनाव जित्छन् ? त्यसका लागि खर्च गर्ने ल्याकत हुनुप¥यो, कार्की केन्द्रीय स्तरका नेता हुन्, भोलिका दिनमा केन्द्रीय स्तरका विकासका कामहरू हुन्छन् भन्दै कार्कीको पक्षमा वकालत गरेका थिए । कार्कीले यसभन्दा अगाडि निर्वाचित जितेर गए पनि निर्वाचनका समयमा दिएको आश्वासन कुनै पूरा नगरेको, टुरिस्ट सांसदजस्तो गरेर यदाकदा आफ्ना निकटकोमा आउनेबाहेक अरू थोक नगरेकोमा त्यस क्षेत्रका आम कार्यकर्ता कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवारी पाउनु नहुने पक्षमा रहेका छन् । यसभन्दा अगाडि पनि यथार्थमा कार्कीले निर्वाचन हारेका थिए । उनले आफू पराजित हुने निश्चित भएपछि मतदान गणना चार पटक स्थगित गराएका थिए । सत्ताको आडमा सशस्त्र प्रहरी गणनास्थलमा परिचालित गरी विपक्षी र उनका प्रतिनिधिलाई गणनास्थलमा प्रवेश रोक लगाएका थिए । यो हदसम्मको कर्तुत गर्दा समेत कार्की आफ्ना प्रतिद्वन्द्वीसँग १४२ मतले मात्र विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया