विराटनगर । भारतीय राजदूतावास काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजना र धरानस्थित पेन्सन वितरण कार्यालयको समन्वयमा आइतबार साँझ विराटनगरमा भारतीय संस्कृतिको मेरुदण्डको रूपमा रहेको ‘ओडिसी नृत्य’ भव्य रूपमा प्रदर्शन भएको छ । विराटनगर महानगरपालिका वडा नं. १४ स्थित सिटी पार्टी प्यालेस एण्ड गार्डेनमा साँझ भव्य समारोहबीच चर्चित ओडिसी नृत्य प्रदर्शन गरिएको थियो । भारतका मुख्य सांस्कृतिक सम्पदाको रूपमा रहेको ओडिसी नृत्य विराटनगर महानगरपालिकाका प्रमुख नागेशचन्द्र कोइरालाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख कोइरालाले भन्नुभयो, नेपाल–भारतको मित्रता र भाइचाराको जुन नाता छ, त्यस्तो नाता संसारका अन्य कुनै देशसँग रहेको छैन । दुवै देशबीचको सम्बन्ध विशेष प्रकारको रहेको छ । कालजयी यो सम्बन्ध सदियौँदेखि रहँदै आएको छ । दुई देशबीच सांस्कृतिक सम्बन्ध अझ प्रगाढ रहेको भन्दै उहाँले राजनीतिक, आर्थिक र ऐतिहासिक सम्बन्धको समेत चर्चा गर्नुभएको थियो । उहाँले कुनै पनि देशको सांस्कृतिक नृत्यकलालाई माया र सद्भावको दृष्टिले हेर्ने स्पष्ट पार्नुभयो । विराटनगरमा भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा यस प्रकारको कार्यक्रम आयोजना गरेकोप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पुनः यस प्रकारका कार्यक्रम आयोजना हुनेमा आफू आशावादी रहेको स्पष्ट पार्नुभयो ।


कार्यक्रममा नेपाली सेना, पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति मेजर जनरल गौरवकुमार केसी, राष्ट्रिय अनुसन्धान कोशी प्रदेश कार्यालयका प्रमुख इन्द्रसिंह लामा, नेपाल प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुँयाल, कोशी प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरू, कोशी प्रदेशका उद्योगी–व्यवसायीहरू, वरिष्ठ चिकित्सकहरू, सामाजिक अभियन्ताहरू, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, विभिन्न सामाजिक संघ–संस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लेखक तथा बुद्धिजीवीहरू, पेन्सन वितरण कार्यालय धरानका कर्मचारी तथा उहाँहरूका परिवार र भारतीय भूतपूर्व सैनिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम समापन गर्दै भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले भन्नुभयो, यहाँहरू सबैले आफ्नो बहुमूल्य समय निकालेर भारतीय संस्कृतिको एक महत्वपूर्ण भाग ओडिसी नृत्य हेर्न पाल्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । उहाँले भन्नुभयो, पूर्वाञ्चलका विभिन्न स्थानमा बसोबास गर्नुहुने भारतीय भूतपूर्व सैनिक र तिनका आश्रित
परिवारहरूप्रति विशेष धन्यवाद छ । भारत सरकार नेपालको समृद्धि र उन्नतिका लागि सधैँ सहयोग र सद्भाव राख्दै आएको र राखिरहने उहाँले दोहो¥याउनुभयो ।





