जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई चयन

धरान । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) प्रदेश १ को अध्यक्षमा गणेश राई चयन भएका छन् । शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको अध्यक्षतामा सर्वसम्मत ४९ सदस्यीय प्रदेश समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन् । महासचिवको जिम्मेवारी नगेन्द्र पारघरी लिम्बूलाई दिइएको छ । त्यस्तै, सचिवहरूमा गणेश खालिङ, कुमार सुनुवार र रञ्जित साम्पाङ चयन भएका छन् ।

समितिका सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन् । अघिल्लो प्रदेश समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि नयाँ समिति गठन गरिएको पार्टीले जनाएको छ । नवनिर्वाचित अध्यक्ष गणेश राईले प्रदेश १ मा जनता समाजवादी पार्टीलाई पहिलो पार्टी बनाउने लक्ष्यसहित संगठन विस्तार र पार्टी निर्माणमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया