अंशुको हत्यारा पक्राउ

बेलबारी । मोरङको लेटाङ नगरपालिका वडा नं. २ स्कुलचौककी १३ वर्षीया अंशु गौतमको हत्यारालाई अन्ततः प्रहरीले दुई महिना पश्चात् पक्राउ गरेको छ । असोज २१ गते दिउँसो दशैँका अवसरमा हालिएको लिंगे पिङ खेल्न गएकी कक्षा ५ मा अध्ययनरत गौतम घर नफिर्किएपछि अभिभावक र छिमेकीले खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङमा उजुरी दिएका थिए । प्रहरीले अंशुको शव कार्तिक ७ गते बेलबारी चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको, क्षतविक्षत भएको र सडेर दुर्गन्धित भएको अवस्थामा फेला पारेको थियो ।

हत्या भएको लामो समयसम्म पनि प्रहरीले अंशुको हत्यामा संलग्नको पहिचान गर्न नसक्दा चौतर्फी प्रहरीको आलोचना भएको थियो । अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङकी एसपी कविता कटुवाल, कोशी प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको थियो । अन्ततः दुई महिनापछि प्रहरीले छिमेकी ५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि हत्याको रहस्य खुलेको थियो । अभियुक्त अधिकारीले छिमेकी रिसइवीका कारण अंशुको हत्या गरेको स्वीकारेका छन् । एसपी कविता कटुवालका अनुसार अंशुको हत्यामा हालसम्म अधिकारीको मात्र संलग्नता देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको, शव पूर्ण रूपमा सडेका कारण अनुसन्धानमा जटिलता आएको, शव कुहिएको कारण अनुसन्धानमा ढिलाइ भएको भए पनि अन्ततः हत्यारा पक्राउ गर्न सफल भएको बताइएको छ । यद्यपि हाल पोस्टमार्टमको रिपोर्ट, डिएनए परीक्षण, फरेन्सिक अनुसन्धानका पाटोबारे पनि अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो । घटना स्थलको अवस्था हेर्दा उनले लगाएको ट्राउजर, हाफपाइन्ट र चप्पल फुकालेर फालेको हुँदा बलात्कार पछि उनको हत्या भएको प्रहरीले आशंका गरे पनि थप अनुसन्धानका विवरण आएपछि मात्र यस सम्बन्धी पुष्टि हुने अनुसन्धानमा संलग्न अर्का प्रहरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया