सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मनाही टोल नजिक लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । बिहान १६ः५० बजे प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले काशपुरबाट मधुवनतर्फ जाँदै गरेका प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई रोकी कानुनअनुसार चेकजाँच तथा खानतलासी गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक रामनाथ यादव (२१), कोशी गाउँपालिका–६, सुनसरी, र पछाडि सवार भुषण कुमार यादव (१९), बिरपुर–३, सुपौल, बिहार, भारत को साथबाट ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवैले बोकेको कालो झोलाबाट ८ पोका र मोटरसाइकलको लेग गार्डमा झुण्ड्याइएका झोलाबाट ११ पोका गरी जम्मा १९ पोकामा १९ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो । पक्राउ परेका दुवै युवक र प्रयोग गरिएको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा बुझाएको छ । उक्त पक्राउबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
