गाँजा सहित तीन व्यक्ति र सवारी साधन नियन्त्रणमा, चालक फरार

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१, कृषि बजार नजिक पर्ने ‘साफिर’ नामक सवारी साधन मर्मत ग्यारेजमा ठूलो परिमाणमा गाँजा ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीले १ सय ४९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा नियन्त्रणमा लिएको छ । मंसिर २० गते दिउँसो १ बजेको समयमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ग्यारेजमा पुगेपछि कानुनबमोजिम गरिएको चेकजाँच तथा खानतलासीका क्रममा मे. १ ज. २०१८ नम्बरको सवारी साधनबाट ठूलो मात्रामा गाँजा झिक्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा धनकुटा सागुरीगढी ४ का २९ बर्षीय इन्द्र कुमार लिम्बु, शहीदभूमि गाउँपालिका ४ का २५ बर्षीय जिबसन राई, भारत उत्तरदिनाथपु रामगञ्च सुजाली ग्रामथानका २५ बर्षीय साफिर आलम रहेका छन् । उनीहरूले प्रयोग गरेको सवारी साधनभित्र १४९ किलोग्राम (एक सय उनन्पचास किलो) गाँजा जस्तो देखिने पदार्थ ओसारपसार गरी ग्यारेजमा अनलोड गर्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाँजा, सवारी साधन र पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बुझाइएकाले थप अनुसन्धान जारी छ। यसैबीच, घटनामा संलग्न रहन सक्ने सवारी साधन चालक भने फरार रहेको र उनकी खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया