धान नाच संरक्षणमा लिम्बु समुदाय

धरान । धरान(१५ स्थित चुम्लुङ हिममा यो वर्ष पनि चासोक तङनामको अवसर पारेर सुरु भएको मेलाले सांस्कृतिक रौनकता थपिदिएको छ । मंसिरे पूर्णिमादेखि लाग्न सुरू भएको पाँचदिने मेलामा धान नाच, च्याबु्रङ बाजाका तालदेखि लिम्बु समुदायका परम्परागत खानपानका स्टलसम्मको आकर्षण बढेको छ । लिम्बु समुदायले आफ्नो सांस्कृतिक पहिचानको मूल प्रतीकका रूपमा राख्ने धान नाच यो मेलाको मुख्य प्रदर्शनको रूपमा रहेको छ । पछिल्लो पुस्तामा यस नाचप्रति ज्ञान र चासो घट्न थालेको चिन्तासँगै संस्कृति जोगाउन मेलामा धान नाचलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । विगतमा पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने लिम्बु समुदायले मेला(उत्सव तथा उधौंली(उभौलीमा सात दिन सात रात निरन्तर धान नाच्ने परम्परा कायम गरेका थिए । केटा(केटी हात समातेर पालाम गाउँदै रातभर नाचिने यो नाच केवल मनोरञ्जन वा पर्वको हिस्सा मात्र नभई सामाजिक सम्बन्ध र प्रेम(विवाहको माध्यम समेत बन्थ्यो । घरबाटै पकाएर ल्याइने चाम्रे भात खाएर रातभर नाच्नुपर्ने चलन आज पनि अग्रजहरूको स्मृतिमा ताजा छ ।

धान नाचका क्रममा प्रयोग गरिने हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो जस्ता मौलिक गीतहरूसँगै आफ्नै भाषा र लिपी प्रयोग गर्ने ऐतिहासिक परम्परा भने अहिले क्रमशः हराउँदै गएको महसुस हुँदैछ । यसै सन्दर्भमा लिम्बु समुदायका अग्रजहरूले संरक्षणका प्रयासलाई तीव्र बनाएको किरात याक्थुङ म्लुङका संरक्षक मोहन हुक्पा चोङवाङ बताउनुहुन्छ । पछिल्लो पुस्तामा धान नाचबारे पर्याप्त ज्ञान नदेखिएपछि चासोक तङनाम मेलामा सामूहिक धान नाच सुरु गरिएको र यसले युवा पुस्तालाई संस्कृतिसँग नजिक ल्याएको उनीहरूको ठहर छ । युवा पुस्ताका भरत लिम्बुले मेलाजस्तै सामूहिक अभ्यासले धान नाच संरक्षणमा उनीहरूको भूमिकालाई अझ जिम्मेवारीपूर्ण बनाइदिएको बताउनुभयो । धान नाचको उत्पत्ति धान थन्क्याउने समयमा बाली चराहरूले खान नआउन् भनी ‘हाहा’ गर्दै धपाउने चलनबाटै भएको जनविश्वास छ । प्रकृतिसँग जोडिएको यो मौलिक सांस्कृतिक रूपलाई निरन्तर जोगाउन आज पनि समुदायको प्रयास जारी केराबारी मोरङका सरनबहादुर लिम्बु बताउनुहुन्छ । बसाइँसराइ, वैदेशिक रोजगारी र आधुनिक जीवनशैलीका कारण युवा पुस्ता मौलिक संस्कृति तथा भाषा(लिपीबाट टाढिंदै जाँदा अब घरघरमै भाषा प्रयोग गर्ने अभियान आवश्यक भएको समुदायको बुझाइ छ । एक समय हरेक मेला, उत्सव र खुशियालीमा अनिवार्य रूपमा नाचिने धान नाच अहिले मौसमी रूपमा सीमित हुँदै गएपछि यसको भविष्यप्रति समुदाय चिंन्तित बनेको छ । संस्कृति जोगाउन अग्रजदेखि युवासम्म सबै एकजुट भएर लाग्नुपर्ने आवश्यता टड्कारको रुपमा अगाडि आएको छ । धान नाच जस्तो मौलिक र ऐतिहासिक सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्न सबै लाग्नुपर्नेमा लिम्बु समुदायको जोड छ ।

तपाईको प्रतिक्रिया