धरान । धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरूले साना–साना कुरामै समेत ठूलो समस्या भोग्नुपरेको छ । एक पटक होइन, पटक–पटक यस्ता समस्या दोहोरिने क्रम नरोकिने गरेको सेवाग्राहीको गुनासो छ । पछिल्लो शुक्रबारदेखि भने प्रतिष्ठानले बिल काउन्टरमा प्रयोग गर्दै आएको सफ्टवेयर नै नचल्दा सर्वसाधारण थप हैरानीमा परेका छन् ।
तेह्रथुमको छथर गाउँपालिकाबाट विरामी लिएर आउनुभएका षडानन्द विश्वकर्मा आइतबार विहान ७ बजेदेखि नै बिल काउन्टरमा लाइनमा बस्नुभएको थियो । तीन घण्टा बितिसक्दा पनि अर्थात् १० बजेसम्म बिल काउन्टरका कर्मचारीहरूले बिल काट्न सुरु गर्न नसक्दा उहाँसहित सबै सेवाग्राही चिन्तित बने ।
विल काउन्टरदेखि हाताबाहिरसम्म नै फैलिएको लामो लाइनले समस्याको गम्भीरता झनै देखाउँदै थियो । छिटो बिल काट्न माग गर्दै सेवाग्राहीले दबाब दिइरहेका थिए, तर सफ्टवेयर नै नचलेपछि कर्मचारीहरू स्वयं असहज परिस्थिति सामना गरिरहेका थिए । विशेषगरी स्वास्थ्य बीमाबाट बिल काट्ने प्रक्रियामा समस्या झनै तीव्र भएको कर्मचारीको भनाइ छ । प्रतिष्ठानजस्तो ठूलो अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणले गरिने अपेक्षा अनुसार सुविधा पाउन नसकिएको, बरु समस्या नै समस्या झेल्नुपरेको विश्वकर्माले बताउनुभयो । यस्तो समस्या नौलो भने होइन । धेरै विरामीले यस्ता झन्झटपूर्ण अवस्थाहरू पटक(पटक खेप्नुपरेको बताउँदै आएका छन् । इटहरीबाट बीपीमा उपचारका लागि आउने गोविन्द नेपाल त विगतमा पनि बिलिङ सिस्टम नचलेका कारण बिल नै नकटाई फर्किन बाध्य भएको पीडा व्यक्त गर्नुहुन्छ । यो समस्याले युवा मात्र होइन, ज्येष्ठ नागरिकहरूलाई झनै बढी प्रभावित पारिरहेको छ । लाइनमा घण्टौ बस्दा पनि सफ्टवेयर नचलेर उपचारमा पुगेका विरामी तथा उनका आफन्त पूर्ण रूपमा हैरान भएको उनीहरूको भनाइ छ ।
सबैभन्दा ठूलो समस्या भने ज्येष्ठ नागरिकले भोग्नुपरेको थियो । शारीरिक रूपमा कमजोर र थकान हुने यस्ता नागरिक घण्टौँ लाइनमा उभिन बाध्य भएपछि उनीहरूले बीपी प्रतिष्ठानको यो समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरेका छन् ।

यता प्रतिष्ठानका अस्पताल निर्देशक जगत नारायणले क्यामरामा केही नबोले पनि यो समस्या बीमा बोर्डकै कारण उत्पन्न भएको र बीपी प्रतिष्ठानको कमजोरी नभएको बताउनुभएको छ । साथै समस्या समाधानका लागि आवश्यक काम भइरहेको जानकारी समेत उहाँले दिनुभयो । शुक्रबारदेखि सुरु भएको यो समस्या आइतबारसम्म पनि समाधान नहुनु, बीमा बोर्ड र बीपी प्रतिष्ठान दुवै निकाय यस्ता संवेदनशील विषयमा गम्भीर नहुँदा भएको अवस्था हो भन्ने सेवाग्राहीहरूको टिप्पणी छ । साना(साना यस्ता प्रविधिगत समस्याले विरामीहरू समयमै चिकित्सकलाई देखाउन पाउँदैनन् । बीमाबाट बिल काटिसकेपछि चिकित्सकलाई भेट्न, त्यसपछि रिपोर्टका लागि स्क्यानिङ, पुनः शुल्क तिर्न(हरेक चरणमा लामो लाइन, प्रतीक्षा र धैर्यको परीक्षा झेल्नुपर्छ । स्वास्थ्य बीमाबाट उपचार गराउने विरामीले बीपीमा अत्यधिक समस्या भोग्नुपरेको स्पष्ट देखिन्छ । बीमा नभएकाको बिल १० दिनसम्म मान्य हुने भए पनि बीमामा उपचार गराउनेले दैनिक बिल काट्नुपर्ने बाध्यता छ, जसले व्यवस्थापनमा थप चाप सिर्जना गरेको छ । दैनिक ५ हजारभन्दा बढी विभिन्न रोगका विरामी उपचारका लागि आउने प्रतिष्ठानमा सर्वसाधारणले सहज, छरितो र प्रभावकारी सेवा अपेक्षा राख्छन् । तर ती अपेक्षा पूरा नहुँदा गुनासो नै बढी सुनिन थालेको छ । यसतर्फ बीमा बोर्ड र बीपी प्रतिष्ठान दुवै निकाय अब गम्भीर भएर दीर्घकालीन समाधानमा ध्यान दिन जरुरी छ ।
