९८ किलो गाँजा र सिटी सफारी सहित दुई जना पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका–३, डाँडागाउँ टोलमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको टोलीले ठुलो मात्रामा गाँजा बरामद गरेको छ । मंगलवार दिउँसो करिब १२ः३० बजे भएको प्रहरीले ऐ.ऐ. बस्ने ३५ वर्षीया कल्पना राईको घरमा गरेको खानतलासी क्रममा प्र.१–०२–००३ ह ९०५५ नम्बरको सिटी सफारीमा लोड गरिएको अवस्थामा ९८ किलोग्राम (अन्ठानब्बे किलो) लागू औषध गाँजा फेला परेको जनाएको छ ।

घटनास्थलमै सिटी सफारी तथा बरामद गरिएको गाँजा सहित घर मालिक कल्पना राई तथा जिल्ला भोजपुरका रामप्रसाद गाउँपालिका–७ घर भई हाल त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया