धरान । गत हप्ताबाट धरानको पिण्डेश्वर मन्दिरमा बोलबम मेला शुरु भएसँगै धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमात्र हैन विजयपुरमा रहेका अन्य मन्दिरमा समेत चहलपहल बढेको छ । पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने भक्तहरु विजयपुरमा रहेको बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर लगायतका मन्दिरमा दर्शन गर्न जाने भएकोले पनि चहलपहल बढेको हो ।
साउन महिनाको सोमबार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजनहरुका कारण अत्याधिक चहलपहल बढ्छ । यहाँ जल चढाउन आउने भक्तजनहरुको पिण्डेश्वर मन्दिरमा जल चढाएर फर्कने मात्र उद्देश्य हुदैन । जल चढाइसकेपछि अन्य मठ मन्दिरमा दर्शन गर्ने उद्देश्य बोकेका हुन्छ्न् । यही उद्देश्यका कारण पिण्डेश्वर मन्दिरमात्र हैन धरान १४ विजयपुरमा रहेका बुढासुबबा, दन्तकाली, पञ्चकन्या लगायतका मन्दिरमा दर्शन गर्ने गरेकै कारण विजयपुरका मठमन्दिरमा चहलपहल बढेको हो । उदयपुरबाट धरानको पिण्डेश्वर मन्दिरमा जल चढाएर दन्तकाली मन्दिर दर्शन गर्दै गर्दा भेटिएकी पवित्रा प्रसाईले बराहक्षेत्रको सप्तकोशीबाट जल ल्याएर धरान १४ विजयपुरको पिण्डेश्वर मन्दिरमा जल चढाएपछि दन्तकाली मन्दिरको दर्शन गर्न आएको र यहाँबाट बुढासुब्बा मन्दिर पनि दर्शन गर्न जाने बताइन् । उहाँमात्र हैन दार्जिलिङबाट आएका सुमन श्रेष्ठ समेत पिण्डेश्वर मन्दिरमा जल चढाइसकेपछि दन्तकालीको दर्शन गर्दै बुढासुब्बा मन्दिरमा भेटिए । पिण्डेश्वर मन्दिरमा पहिलो पटक जल चढाउन आएका उनले धरान साँच्चैको सुन्दर सहरको रुपमा आफूले चित्रण गरेको बताए । उनले भने–‘म पहिलो पटक धरान आएको हु, धरान सुन्दर छ अझ धरान १४ विजयपुरमा रहेका मठ मन्दिरले धरानको सौन्दर्यता अझ थपेको छ ।’

पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने अधिकांश भक्तजनहरु जल चढाइसकेपछि विजयपुरमा रहेका सबै मन्दिरमा दर्शन गरेर फर्कने गरेका छन् । यसले धरानको व्यापार व्यवसायलाई समेत चलायन बनाएको छ । सुनसरी उद्योग वाणिज्य संघका सदस्य एवम् धरान मनिहरी तथा व्यापार संघका अध्यक्ष रामस्वरुप शर्माले साउन महिनाको बोलबमले धरानका मठमन्दिरसँगै धरान बजार नै चलायमान हुने बताए । उनले बोलबममा जल चढाउन एक पटक मात्र हैन पटक पटक आउने भक्तजनहरु धेरै भएको बताउदै यस मन्दिरमा भक्तजनहरुको आस्था र विश्वास बढेकै कारण बर्षेनी भक्तजनहरु बढ्दै गएको बताए । रुदाक्षरण्य क्षेत्रको रुपमा विभिन्न पुराण तथा ग्रन्थहरुमा समेत उल्लेख भएको धरान १४ पिण्डेश्वर मन्दिरको महिमाको व्यापाक प्रचार प्रसार भएकै कारण बर्षेनी यहाँ भक्तजनहरुको भीड बढ्दै गएको छ । पछिल्लो समय शिवजट्टालाई पनि पिण्डेश्वरसम्म जोड्ने अभियान अन्तर्गत शिवजट्टाको जल पिण्डेश्वरमा ल्याएर चढाउने प्रचलन यस बर्षदेखि शुरुवात गरेपछि बोलबमप्रति सर्वसाधारणको आस्था बढेको पाइन्छ । यहाँ नेपालबाटमात्र हैन भारतको पश्चिम बंगाल, दार्जिलिङ्ग, सिक्किमसम्मका सर्वसाधारण जल चढाउन आउने गरेका छन् । साउन महिना गेरुवस्त्रधारीहरु सर्वसाधारणको अत्याधिक यस क्षेत्रको रौनकता नै बढेको पाइन्छ । बोलबमलाई मेलालाई व्यवस्थित, भक्तजनहरुका लागि सेवा सुविधामा थप गर्दै लगेका कारण पनि बोलबमको महिमा चुलिदै गएको हो ।
