धरान । कोशी प्रदेशका सीमावर्ती पहाडी जिल्लाहरु पाँचथर, इलाम र ताप्लेजुङ चल्ने यातायात बन्द भएका छन् । शनिवार साँझदेखिको अविरल बर्षका कारण दर्जनौ स्थानमा झरेको पहिरो र सडक बगाउँदा यातायात पूर्ण रुपमा बन्द भएको हो । विशेषगरि पाँचथर जिल्लालाई जोड्ने सडक अवरुद्ध हुँदा ताप्लेजुङ चल्ने यातायात समेत बन्द भएको हो । मेची राजमार्ग, मध्य पहाडी राजमार्ग, तमोर करिडोर, राके रवि सडक खण्ड, फिदिम फलाटे सडक खण्ड अवरोध भएको छ । मेची राजमार्गको दर्जनौ स्थानमा यस अघि बनाइएका डाइभर्सन बगाएको छ । तमोर करिडोरको नावा खोला र मेभे खोलामा आएको बाढी र राँके रवि सडक खण्डमा दर्जनौ स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको पाँचथर प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा केही दिन निरन्तता बर्षा हुने छ । धेरै स्थानमा दिउँसो मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम बर्षा, केही स्थानमा भारी बर्षा हुने र रातमा समेत यही क्रम रहने जनाएको छ । उता जिल्ला प्रशासन कार्यालय पाँचथर फिमिदले उच्च शतर्कताका लागि जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रशासकीय अधिकृत डिकबहादुर दाहाल द्वारा हस्ताक्षरित अनुरोधमा भनिएको छ जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार कोशी प्रदेश समेतका केही स्थानमा मध्यदेखि भारी बर्षाको सम्भावना रही पहिरो जानसक्ने र नदी तथा खोलाको सतह बढी कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम बढेको छ । तसर्थ यात्रा गर्दा पहिरो जोखिम बारे जानकारी लिई सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो् पानी पर्न लागेको बेला सुरक्षित स्थानमा रही बर्षा रोकिएपछि यात्रा गर्नुहुन र बाढी तथा खोला किनारका बस्ती लगायतका पहिरो जोखिम भएका स्थानका व्यक्तिहरुले समेत उच्च शतर्कता अपनाउन अनुरोध गरिएको छ ।
