धरान । नेपाली काँग्रेसका संस्थापक, समाजवादी चिन्तक बीपी कोइरालाको बिचार, आदर्श काँग्रेसका केन्द्रीय नेतृत्वदेखि ग्रासरुट सम्मका कार्यकर्ताहरुले परित्याग गर्दै गएकोमा चिन्ता ब्यक्त गरिएको छ । बीपी कोइरालाको ३४ औ स्मृति दिवसका अवसरमा धरान १३ स्थित बीपी पार्कमा आयोजित कार्यक्रममा बक्ताहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बीपी कोइरालाको पुर्णकदको प्रतिमामा माल्यार्पण गर्दै प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाली काँग्रेस सुनसरीका उपसभापति नागेस चन्द्र राइले भन्नुभयो बीपीका आदर्श र चिन्तन वर्तमानमा अझ सान्दर्भिक बन्दै गएको छ । जीवनका अधिकांश समय जेल र प्रवासमा बिताउनु भएका कोइराला हरेक काँग्रेसका लागि आदर्श व्यक्तित्व हुनुहुन्छ । सिद्वान्त, बिचार नमिल्नेसँग कहिल्यै सहकार्य नगर्नु भन्नु हुने बीपीको उक्त आदर्शबाट बेलैमा सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी नेपाली कंग्रेसका पुराना नेता एवं बीपी कोइराला संग्राहलय एवम् अनुसन्धान केन्द्रका अध्यक्ष विश्वराज शर्मा भन्डारीले कंग्रेसको वर्तमान नेतृत्वको कार्यसैलीप्रति कडा आलोचना गर्नुभएको थियो । उहाँले भन्नुभयो वर्तमान नेतृत्वका कारण काँग्रेसका अधिकांश कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । हज्जारौं सक्रिय सदस्यले सदस्यता नवीकरण गरेनन् । यही स्थिति रहेमा ८४ मा नेपाली काँग्रेस के आधारमा भोट माग्न जान्छ ? आज एमालेसँग सत्ता मोहका कारण अपवित्र गठबन्धन गर्न पुगेको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेका लुट, मानव तस्करीको काँग्रेस किनाराको साक्षी बनेर बसेको छ । बीपी चिन्तन प्रतिष्ठान, परिवर्तनशील समाज, बीपी कोइराला संग्रहालय एवम् अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चिन्तनकी अध्यक्ष श्यामा रेग्मी, समाजकी अध्यक्ष उर्मिला प्रधानले समेतले बीपीका वहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो भने परिवर्तनशील समाज नेपालका सचिव किरण आचार्यले कार्यक्रमे सञ्चालन गर्नुभएको थियो ।
