धरान । उदयपुरको रामपुर र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई जोड्ने कोशी नदीमा बनेको पुलले गन्तव्यसम्म हिडेका सर्वसाधारणलाई सहजमात्र बनेको छैन अहिले यो आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षकको केन्द्र विन्दु बनेको छ । बराहक्षेत्र धाम लगायत बराहक्षेत्रमा रहेका विभिन्न धार्मिक मठ मन्दिरको दर्शनपछि यो पुलमा आएर कोशी नदीको वहावको दृश्यसँगै पुलमा चिसो हावामा रमाउनेको संख्यामा बृद्धि भएको हो । विगतमा यो पुल नबन्दा उदयपुरका विभिन्न स्थान र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सम्बन्ध विच्छेद झै थियो । विगतमा वैकल्पिक बाटो अपनाएर उदयपुरसम्म पुग्न झन्झट मात्र हैन धेरै समय लाग्थ्यो अहिले यो पुल निर्माणपश्चात उदयपुर र सुनसरीको बराहक्षेत्र नगरपालिका छिमेकी ठाउँ झै भएको छ । सुनसरी र उदयपुरको संगम स्थल सप्तकोसी नदीमा पुल निर्माण भए पछि यहाँ आन्तरिक तथा पर्यटकहरु बढेका छन् । धार्मिक क्षेत्र बराहक्षेत्रमा देवीदेवताको दर्शनपछि पुलमा मनोरञ्जन गर्न, टिकटक बनाउने उद्देश्य नै बोकेर यहाँ आएका हुन्छन् । यस स्थानमा धरान, विराटनगर, इटहरी, झापा, मोरङका मात्र हैन भारतको पश्चिम बंगालका सर्वसाधारण समेत आउने गरेका छन् । यो पुल निर्माणपश्चात कोशी पुल वारि बराहक्षेत्र नगरपालिका र उदयपुर नगरपालिका ७ मा रहेको रामपुरमा सैयौ होटलहरु समेत सञ्चालनमा छन् । उदयपुर चौदण्डीगढीकी क्रिश्मा सुवेदी हप्तामा एक वा दुई पटक उदयपुर र चतरा जोढ्ने सप्तकोशी पुलमा ‘रिफ्रेसमेन्ट’ का लागि आइरहनु हुन्छ । परिवारका साथ आउने उहाँले घरको काम गर्दा गर्दा ‘बोर’ हुने भएपछि कोशी पुलसँगै आसपासका मनोरम दृश्य नियाल्नकै लागि भएपनि यहाँ आउने गरेको बताउनुहुन्छ ।


यहाँ आएर धेरैले टिकटक बनाएर पोष्ट समेत गर्ने गर्दछन् । जसले गर्दा यस ठाउँको महिमाको विषयमा नेपालमा मात्र हैन भारतमा सर्मेत चर्चाको विषय बन्ने गरेको छ । भारतको जोगबनीबाट पहिलो पटक चतरा आउनु भएका नसुद पर्वेजले फोटो सुट, घुम्नका लागि अत्यन्तै आकर्षक स्थान भएको आफूले पाएको बताउनुभयो । उहाँले यहाँ एक पटक आउनै पर्ने ठाउँ भएकोले आएर मनोरञ्जन लिन साथीभाईहरुलाई आग्रह समेत गर्नुभयो । उदयपुरका क्रिश्मा र जोगबनीका पर्वेजजस्तै उदयपुरकै मन्दिरा भण्डारी र सम्झना कार्कीका भनाई पनि उस्तै छ । बराहक्षेत्र धाम दर्शन गरेर फर्किएपछि यहाँ टिकटक बनाउने, घुम्ने र रमाइलो गर्ने प्राय ः भइरहने उहाँहरुको समेत भनाई छ । उदयपुर र चतराका स्थानीयहरुका अनुसार अहिले यो पुलमा दैनिक १ सय भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । पर्यटकको आगमन बाक्लिदै गएका कारण यहाँका होटलहरुमा समेत चहल पहल बढेको छ । अहिले बनेको पुलमा विगतमा सर्वसाधारणले सास्ती भोगेर कोशी नदी तर्नुपर्ने अवस्था थियो । त्यसबेला वाँसको नाउ बनाएर जोखिमपूर्ण यात्रा यहाँका स्थानीयले गर्दै आएका थिए । यति मात्र हैन पुल नबन्दा धरानको बीपी कोइरालामा उपचार गराउन आउन उदयपुरबाट समेत समस्या थियो । उदयपुरको रामपुरबाट धरानको दुरी २२ किमी छ । यहाँ पक्की पुल बनेपछि स्वास्थ्य उपचारका लागि समेत सहज बनेको छ । यो पुल ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । यो रकममध्ये एडिबीको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको थियो । २ सय ६१ दशमलब ४ मिटर लम्बाई भएको यो पुलको निर्माणको जिम्मा कालिका कन्स्ट्रसन प्रालिले ठेक्का पाएको थियो । यो पुल निर्माणले उदयपुर, सुनसरी र भोजपुरका सर्वसाधारणलाई सहज त बनाएको छ नै पर्यटकीय गन्तव्यको रुपमा विकास समेत हुदै गएको छ ।
