भोजपुर (कोशी प्रदेश) । कोशी प्रदेशको भोजपुर जिल्लास्थित अरुण गाउँपालिकमा अरुण वहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण हुने भएको छ । नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु ३.१८८ करोडमा उक्त परियोजना निर्माण हुने भएको हो । वहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणका लागि आषाढ ३१ गते मंगलबार नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौका काउन्सिलर अविनाश कुमार सिंह र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रुपमा एक भव्य कार्यक्रमका बीच शिलान्यास गर्नुभयो । कार्यक्रममा भोजपुर जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरु, सुरक्षा संकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त वहुउद्देश्यीय प्रतिष्ठान भवनमा सहयोग कक्षा कोठा, शिक्षक कक्ष, वैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय सहित अन्य सहयोगी संरचना रहने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्तीका अनुसार भवन आकर्षक डिजाइनको तीन तलाको हुनेछ । यस परियोजनालाइ उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको र सो को कार्यान्वयन अरुण गाउँपालिकामार्फत हुने भएको छ ।


सो अवसरमा बोल्दै अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले भन्नुभयो एउटा व्यवस्थित र सम्पूर्ण पूर्वाधारयुक्त वहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै भारत सरकारको सहयोग प्रशंसनीय रहेको छ । अरुण गाउँपालिकामा प्रतिष्ठान भवन निर्माणले शिक्षक, विद्यार्थीमात्र लाभान्वित नभएर स्थानीयहरु समेत लाभान्वित हुने भन्दै आगामी दिन भारत सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । यसैगरि राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले समेत वहुउद्देश्यीय भवनको अरुण गाउँपालिकामा शिलान्यास भएकोमा भारत सरकारको प्रशंसा गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रहरुमा ५७० भन्दा बढी उच्च सामुदायिक विकास रियोजनाहरुलाई अगाडि बढाएको छ । यी मध्ये ९३ वटा परियोजनाहरु कोशी प्रदेशमा रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी, शैक्षिक संस्थाहरुलाई १ हजार ४९ वटा एम्बुलेन्स, ३ सय वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेकोमा भोजपुर जिल्लामा ७ वटा एम्बुलेन्स र एक स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ । दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार भारतको छिमेकी पहिलो नीति अनुरुप भारत र नेपालबीच व्यापक बहुउद्देश्यीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानसँगै प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदव हातेमालो गर्न तयार रहेको विज्ञप्तीमा उल्लेख छ ।


