उपभोक्ता अदालतको गैरजिम्मेवारी फैसला विरुद्ध देशभरिका चिकित्सक आन्दोलित

धरान । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द भए । सधै विरामीको अत्याधिक चाप रहने प्रतिष्ठानको अन्य सम्पूर्ण सेवाहरु बन्द हुनुको प्रमुख कारण थियो उपभोक्ता अदालतको गैरजिम्मेवारी फैसला । त्यसो त सोमबार देशभरिका अस्पताल, शिक्षण संस्थाहरु एकसाथ बन्द भए । यसले लाखौ विरामीहरु प्रभावित भए । मुलुकभरिका चिकित्सकहरु चिकित्सक संघको आवहानमा एकै पटक सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । संघले उपभोक्ता अदालतको फैसला विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । उपभोक्ता अदालतले विरामीहरुको मृत्यु भएको खण्डमा उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने लगायतका विवादास्पद फैसला गरेपछि चिकित्सकहरु बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । संघद्वारा मुलुकभरिका अस्पताल, शिक्षण संस्थाहरुमा कार्यरत चिकित्सकहरुलाई विज्ञप्तीमार्फत गरिएको आवहान अनुसार २२ गते आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिने, २३ गते देशभरिका स्वास्थ्य संस्थाका आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने, उपभोक्ता अदालतको फैसला विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नेसँगै २४ गतेदेखि चिकित्सकलाई उपलब्ध गराइएको मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी काउन्सिलमा बुझाउने रहेको छ ।

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सत्ताको निर्देशन अनुसार चल्ने उपभोक्ता अदालतले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई पत्र पठाएको छ । यता चिकित्सकहरुले आफ्ना माग सम्बोधन नभएसम्म उपभोक्ता अदालतको आदेश विरुद्ध आन्दोलनलाई थप सशक्त बनाएका छन् । चिकित्सकहरुले मंगलबार पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । उनीहरुले सोमबार एक विज्ञप्ती जारी गरी आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिन विज्ञप्तीमार्फत आवहान गरेका थिए । चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हाम्रो मागप्रति नेपाल सरकार गम्भीर नदेखिएकोले आन्दोलनलाई निरन्तता दिने निर्णय गरिएको र संघको यस कदमबाट उत्पादन हुने असहज परिस्थितिका लागि हामी क्षमाप्राथी छौ र यसको जिम्मेवार नेपाल सरकारको नै लिनुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया