धरान । पछिल्लो समेत लागू औषध कारोबारीको संख्या बढ्दै गएको छ । भारतसँगको खुला सिमाना, भौगोलिक विविधता र सीमित सुरक्षाकर्मी यसको प्रमुख कारण बनेको छ । नेपालको एक मुख्य जिल्ला सुनसरी अहिले लागुऔषध कारोबारको केन्द्रबिन्दु बन्दै गएको यसको नियन्त्रणका लागि प्रहरी प्रशासनका लागि टाउको दुखाईको विषय बनेको छ
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष ०८०÷८१ को बैशाख मसान्तसम्ममा मात्रै ५४९ जना व्यक्तिलाई लागुऔषध कारोबार र सेवनसम्बन्धी अभियोगमा पक्राउ गरिएको छ । सो अवधिमा ३ सय ८७ वटा मुद्दा दर्ता गरिएका छन् । त्यही अवधिको अघिल्लो आर्थिक वर्ष (०७९÷८०) को तुलनामा हेर्दा लागुऔषध संलग्नता रूपमा बढेको देखिन्छ ।

अघिल्लो वर्ष ४०९ जना पक्राउ परेका थिए भने मुद्दा संख्या २४१ मात्र थियो। प्रहरीको तथ्यांक अनुसार हालको आर्थिक वर्षमा अहिलेसम्म सबैभन्दा धेरै गाँजा बरामद भएको छ । मात्र बैशाख मसान्तसम्ममा ९ हजार ३ सय ४३ केजी गाँजा नियन्त्रणमा लिइएको छ । चरेश २ ग्राम २८ मिलिग्राम, ब्राउन सुगर ६६४ ग्राम ७८३ मिलिग्राम, तथा डाइजोपाम, ट्रामाडोल, स्पास्मो प्रोक्सिभन जस्ता औषधीय लागू पदार्थ ३९,८६० वटा ट्याब्लेट र २५८ एम्पुल बरामद गरिएको छ ।स्कफ नामक कोडिनयुक्त सिरप पनि ६८ बोतल बरामद गरिएको छ । अघिल्लो वर्षको तुलनामा गाँजा र स्कफ उल्लेख्य रूपमा बढेका छन्, भने केही लागूऔषधको मात्रा घटेको देखिन्छ । अघिल्लो वर्ष यो समयसम्म ५ हजार १५ केजी गाँजा मात्र बरामद गरिएको थियो । प्रहरीले लागु औषध सगै १सय ३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । लागुऔषध समस्या अहिले भारतको सिमाना नाघेर देशभित्रैको आपूर्ति श्रृंखलामा केन्द्रित भएको छ भने उदयपुर, धनकुटा जस्ता पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजा आउन थालेको छ । सुनसरीमा गाँजा उत्पादन हुँदैन । तर सीमावर्ती जिल्ला भएर यहाँ आन्तरिक तस्करीको मार्ग बनेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले बताउनुभयो । प्रहरीले लागुऔषध नियन्त्रणका लागि आफ्नो रणनीति बदल्दै गएको छ । फोहोर सफा गर्ने अभियान शैलीमा होइन, अब फिल्डमा खटिएका प्रहरीलाई ‘गोली चलाउनेसम्म’को आदेश दिइएको छ । कारोबारमा संलग्न व्यक्तिहरू अब सजिलै नियन्त्रणमा आउँदैनन्। उनिहरुले प्रहरीलाई आक्रमण समेत गर्ने गरेका छन् । लागुऔषध नियन्त्रणमा प्रहरी प्रशासन कठोर बन्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख धमेन्द्र कुमार मिश्रले बताउनुभयो । सुनसरीमा लागुऔषध समस्या अब केवल सीमाबाट भित्रिने समस्या होइन । यो भित्री सञ्जाल, आन्तरिक आपूर्ति र सामाजिक कमजोरीसँग गाँसिएको बहुआयामिक संकट बनेको छ । प्रहरी र प्रशासनले देखाएको तत्परता सराहनीय छ, तर दीर्घकालीन समाधान भने नीति, शिक्षा, समाज र जनसहभागिता मार्फत मात्र सम्भव देखिन्छ ।
