अछाम जिल्लाको साँफेबगरस्थित महेन्द्र मा.वि.को नव निर्मित भवन औपचारिक रुपमा हस्तान्तरण

काठमाण्डौ । उच्च पहाडी अछाम जिल्लाको सदरमुकाम साँफेबगरस्थित महेन्द्र माध्यामिक विद्यालय भवन औपचारिक रुपमा शनिवार विद्यालयलाई हस्तान्तरण गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त विद्यालय भवन जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर, साफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर र नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ३ करोड २४ लाखको लागतमा विद्यालय भवन निर्माण भएको हो । नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको अत्याधुनिक भवनमा विद्यार्थीहरुका लागि अति सुविधा सम्पन्न कक्षा कोठाहरु, प्रयोगशाला कक्षा, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रद्यानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा, छात्र एवम् छात्राका लागि शौचालयहरु रहेका छन् । नव निर्मित विद्यालय भवनका लागि भारत सरकारले अनुदान सहयोगमा आवश्यक सम्पूर्ण फर्निचरहरु, कम्युटरहरु समेत खरिद गरिदिएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अगाडि बढाइएको थियो भने यसका कार्यान्वयन जिल्ला समन्वय समिति अछामले गरेको थियो् ।


नवनिर्मित विद्यालय हस्तान्तरण समारोहमा अछाम जिल्लाका विभिन्न राजनेतिक पार्टीका नेताहरु, जिल्लास्थित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, प्रहरी प्रमुखहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक एवम् शिक्षिकाहरु, अध्ययनरत विद्यार्थीहरु र स्थानीयहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सो अवसरमा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले भन्नुभयो भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको अत्याधुनिक भवनले विद्याथीहरुको पठन–पाठनमा सकारात्मक प्रभाव पार्नेछ । विद्यालयको यस अघिको जीर्ण भवनमा अध्ययन गर्र्दा विद्यार्थीहरुले हिउँद तथा बर्षाद्को समयमा कष्ट झेल्नु परेको स्मरण गर्दै उहाँले अब सिकाइको काम सहज ढंगले अघि बढ्नेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । यसैगरि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले उच्च प्राथमिकताका आधारमा भारत सरकारले महेन्द्र माध्यामिक विद्यालय भवन निर्माण गरिदिएकोमा आभार व्यक्त गर्नुभएको थियो । उच्च प्रभावका अधारमा भारत सरकारले नेपालीहरुको हितका लागि अनुदान सहयोगमा विद्यालय भवनको अलावा खानेपानी, स्वास्थ्य, पूर्वाधार निर्माण, साँस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।
सन् १९६० मा माध्यामिक विद्यालयका रुपमा स्थापित महेन्द्र माध्यामिक विद्यालय पछि उच्च माध्यामिक विद्यालय भवनको रुपमा स्तरोन्नति भएको थियो । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययापन हुँदै आएको छ । हाल उक्त विद्यालयमा ४ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । जसमध्ये विद्यालयमा छात्राको संख्या ६५ प्रतिशत रहेको छ ।
यहाँ स्मरणीय कुरा के छ भने सन २००३ यता भारत सरकारले नेपालका स्थानहरुमा ५७३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाइएकोमा हालसम्म ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी परियोजनामध्ये अछामस्थित महेन्द्र माध्यामिक विद्यालय सहित सदुर पश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरु रहेका छन् । यसैगरि सुदुर पश्चिम प्रदेशमा भारत सरकारले विभिन्न स्वास्थ्य केन्द्र, अस्पताल, शिक्षण संस्थाहरुलई ७० वटा एम्बुलन्स र २७ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेकोमा अछाम जिल्लामा मात्र ६ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गेरको छ ।

तपाईको प्रतिक्रिया