धरान । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आगामी चैत्र १, २ र ३ गते काठमाण्डौमा हिमवत्खण्ड कला–साहित्य– सँस्कृति सम्मेलन हुने भएको छ । हिमवत्खण्डमा बसोबास गर्ने नेपाली भाषीहरुको कला, साहित्य, सँस्कृति, भाषाका सम्बन्धमा वृहत परिचर्चा गर्ने उद्देश्यले हिमवत्खण्ड कला साहित्य सँस्कृति सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतिष्ठानका आयोजक समितिका संयोजक तथा अध्यक्ष डा. विजय सुब्बाले दुई हप्ता अगाडि वृहत पत्रकार सम्मेलनको आयोजना पश्चात राजधानी बाहिर रहेका साहित्यकार भाषा शास्त्रीहरुलाई मूल आयोजक समितिमा धमाधम सदस्यमा मनोनयन समेत गर्ने प्रक्रिया अगाडि बढाउनु भएको छ । मनोनयन गरिएका सदस्यहरुलाई मदन भण्डारी कला साहित्य प्रतिष्ठानको लेटर प्याडमा विवरण उल्लेख गरेर पठाउनु भएको छ । हिमवतखण्ड कला, साहित्य सँस्कृति आयोजना गर्नुको प्रमुख उद्देश्य हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता, साँस्कृृतिक वैभवहरु, यस भुखण्डमा बसोबास गर्नेहरुको ज्ञान परम्परा, भाषा, सँस्कृति आदिलाई विभिन्न जातजाति तथा समुदायबीचमा आदानप्रदान गर्ने रहेको आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. सुब्बाले जानकारी गराउनु भएको छ ।

आयोजकका अनुसार तीन दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन स्व. मदन भण्डारीकी धर्मपत्नी तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने हुनु भएको छ । सम्मेलनमा नेपालका सातै प्रदेशसँगै भारतको सिक्किम, पश्चिम बंगालको दार्जिलिङ्ग, सिलगुढी, असाम, मणिपुर, चीन, बंगलादेश, भुटान, थाइल्याण्ड, बर्माबाट सहभागीहरुले नेपाली लोकसँस्कृति सम्बन्धी आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने सूचि रहेको छ । कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, सिक्किमका पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङ्ग, नेपालका विद्वान प्रा.डा. जगतमान गुरुङ्ग लगायतले हिमवत्खण्डको कला साहित्य सँस्कृति आदिका बारेमा आ–आफ्नो धारणा राख्नुहुने भएको छ । हाल सम्मेलनको तिब्र तयारी भइरहेको आयोजक समितिका सदस्य एवम् बरिष्ठ साहित्यकार ओम श्रेष्ठले जानकारी दिनुभएको छ ।
