प्रणामी मन्दिरमा सुविधा सम्पन्न धर्मशाला निर्माण : उद्घाटन राष्ट्रपतिबाट हुने

धरान । मठ मन्दिर धार्मिक अस्थाको केन्द्रविन्दु बन्दै गएपछि मन्दिर सञ्चालक समितिहरुले दर्शनका लागि आउने यस्ता मन्दिरहरुमा धर्मशाला निर्माणलाई जोड दिएका छन् । यसको प्रत्यक्ष उदाहरण बनेको छ धरान ८ मा रहेको राधाकृष्ण प्रणामी मन्दिर । यो मन्दिरमा धर्मशाला निर्माणसँगै गोपी स्मारक ध्यान साधनालयको निर्माण सम्पन्न भएको छ । यसका उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने निश्चित भएको छ । धरान–८ स्थित धनकुटे रोडमा रहेको श्री राधाकृष्ण प्रणामी मन्दिर निर्माण भएको ५० बर्ष पुगेको छ । मन्दिरमा आउने भक्तजन तथा कोशी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ आउने विरामीहरुलाई लक्षित गरी १६ कोठे धर्मशाला निर्माण सम्पन्न भएको छ भने ब्रम्हलिन बाबाजी श्री १०८ गोपी दास महाराजजीको स्मृतिमा गोपी स्मारक ध्यान साधनालय निर्माण सम्पन्न भएको छ । फागुन ९ गते यसको उद्घाटन नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने निश्चित भइसकेको छ ।

स्वर्ण महोत्सवको अवसरमा फागुन ९ गते देखि ११ गते सम्म श्रीमततारम सागर एवंम श्रीमद्भागवत महापुराणको त्रिदिवसीय अखण्ड पाठ पारायण साथै ब्रहमलिन परमहंस बाबाजी श्री १०८ गोपीदास जी महाराजको पावन स्मृतिमा पाठ साथै विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । सो अवसरमा बोल्दै १०८ जगत नन्दन शास्त्रीले गरिब तथा सहायका लागि भवन निर्माण गरिएको र उनीहरुलाई गाँस, बास र कपास प्रदान गर्ने प्रयोजनको लागि भवन निर्माण गरिएको बताउनुभयो । उहाँले फागुन ९, १० र ११ गरी तीन द्विवसीय कार्यक्रमको गरी भवनको उदघाटन कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गरिब तथा असहायलाई यो धर्मशालामा निःशुल्क गाँस, बासको व्यवस्था गरिने बताउनुभयो । यो धर्मशाला सेवा नै धर्म हो भन्ने मुलमन्त्र अनुसार निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । मन्दिरका संस्थापक अध्यक्ष तथा स्वर्ण महोत्सव संयोजक नेत्रप्रसाद आचार्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका गरिब तथा असहाय विरामीहरुलाई निःशुल्क सेवा गर्ने अभिप्रायले आश्रमको निर्माण गरिएको बताउनुभयो । महोत्सवमा श्री कृष्ण प्रणामी धर्माचार्य अनन्त श्रीविभुषित जगद्गुरु आचार्य श्री कृष्ण मणि महाराजजी श्री ५ नवतनपुरी धाम जामनगरभारतले धार्मिक पाठ कथा वाचन भजन कीर्तन १०८ पारायण, अखण्ड पाठ पारायणको पूर्णाहुति जस्ता कार्यक्रम रहेका छन् । धर्मसँगै सामाजिक कार्यलाई पनि सक्रियता बढाउने अभिप्रायले यो धर्मशाला निर्माण गरिएको समितिको भनाई छ । योे धर्मशाला निर्माणपश्चात गरिब तथा असहायले सुविधाको महसुस गर्ने आश्रम निर्माण समिति, मन्दिर व्यवस्थापन समितिले अपेक्षा राखेका छन् ।

तपाईको प्रतिक्रिया