पौड्यालको १४१ औं जन्मजयन्तिमा आयोजित कविता प्रतियोगितामा राई प्रथम

्धरान । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्म जयन्तिका अवसरमा कवि शिरोमणि साहित्य साधना समाज धरानद्वारा आयोजित खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा कवियित्री सवि मेवाहाङ्ग राई प्रथम भएकी छन् । माघ १८ गते स्थानीय धुलिखेल समाजको भवनमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा राईको बाबा शीर्षकको छन्दोबद्ध कविता प्रथम भएको थियो । यसैगरि प्रतियोगितामा धनकुटाका भरत थापाको बाबाको झोलाको पोस्टमार्टम दोस्रो, भोजपुरकी कञ्चन खत्रीको आमाको काठको बाकस तेस्रो र धरानका भवानीप्रसाद खतिवडाको आउ देश फर्क कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । विजयी प्रतियोगी कविहरुलाई बरिष्ठ कवि मनु मञ्जिल, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा र शारा स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् समाजसेवी वीरेन्द्रसिंह थापाले पुरस्कृत गर्नुभएको थियो । विजेता कविहरुले क्रमश ः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरि कविता प्रतियोगितामा धरानका कवि सुदिप पाख्रिनलाई शारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापना गरिएको वेदकुमारी खड्गबहादुर थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो । यसैगरि प्रा. टिकाप्रसाद वस्ती स्मृति पुरस्कार संस्थापिका श्रीमति अन्नपूर्ण बस्तीले विराटनगरका साहित्यकार एवम् समाजसेवी उमानाथ भट्टराई अाँचललाई प्रदान गर्नुभएको थियो । कवि शिरोमणि साहित्य साधना समाज धरानका सभापति सिद्धिकर्ण शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल रहनु भएको थियो । प्रतियोगी कविताको मूल्यांकन निर्णायक समितिमा पिण्डेश्वर क्याम्पसका प्रा.डा. सागरमणि सु्वेदी, साहित्यकरा भुपिता बशिष्ट रहनु भएको थियो । डा. महानन्द तिम्सिना र डा. भवानी शंकर भट्टराईद्वारा सञ्चालित उक्त कार्यक्रममा भरतमणि भट्टराई, प्रा.डा. रमेश घिमिरे, भुपिता बसिस्ठले पौड्यालको साहित्यिक योगदानको बारेमा चर्चा गनुभएको थियो ।

तपाईको प्रतिक्रिया