जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्धता”

मोरङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा वहाँले “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्धता” व्यक्त गर्नु भएको छ । पुस ८ गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी संगठनले दिएको जिम्मेवारी वहन गरी संगठनको अपेक्षा बमोजिम प्रस्तुत हुन र व्यवसायिक जिम्मेवारी वहन गर्दा आईपर्ने समस्या र चुनौतीहरुलाई आफ्नो धर्म र कर्तव्य ठानेर न्यायिक तवरले आफ्नो पदिय दायित्व निर्वाह गर्न उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रहरी कर्मचारीहरुले अनुशासनको पालना गरी भातृत्व भावका साथ सभ्य र सबैलाई स्विकार्य हुने व्यवहार गरी जन मैत्री प्रहरी सेवा प्रदान गर्नु पर्ने बताउदै प्रदेश प्रहरी प्रमुखको हैसियतले आफुले कुशल अभिभावकको जिम्मेवारी वहन गर्दै हर दुखः सुखमा कोशी प्रदेशमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको साथ र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई मोरङ जिल्लामा स्वागत गर्नुका साथै मोरङ जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतीकरण गर्नु भएको थियो ।
पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पुस ८ गते अपरान्ह कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले विभिन्न संचार माध्यममा आवद्ध रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षक समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी पिडकलाई कानुनी दायरामा ल्याउन तथा पिडितलाई न्यायको अनुभुति दिलाउनुका साथै लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । साथै वहाँले अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सवैबाट निरन्तर साथ र सहयोगको अपेक्षा राख्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया