प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पिएल सिंह दाइसँगको ती स्मृतिहरु

जयप्रकाश गुप्ता आनन्द
लामो समयको अन्तरालमा काठमांडू गएको थिए । अर्को दिन बिहानै पिएल दाईलाई भेटन चाक्सीबारी पुगेको थिए । तुरून्तै भेटन पाए र सोधे तपाईलाई कस्तो छ ? केही महिना देखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कदै गरेको लाग्यो। स्वर पुरानै थियो । “फिल मच बेटर। तर, अत्यधिक थकाईको अनुभव र रोगले जन्माएको खाना प्रतिको बेस्वादले दिक्दार लागेको छ ।” पिएल दाईले मलाई बडो अपनत्वका साथ आफुसंगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिए । त्यस दिन नरदेवीबाट पैदल हिडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौं। पिएल दाईको कुनै परिचित थिए तेहाँ, चेरी भनेर बोल्नु हुन्थ्यो। फेरी गफिदै हामी बालाजु, सोर्हखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, ईन्द्रचोक हुदै न्यूरोड गेटसम्म आई पुगेका थियौं। हिडाई लामो भएको थियो। बिस २०४०–४१ साल तिरको त्यस हिडाईमा पिएल दाईले बडो बिस्तारका साथ गणेशमान जीको बिचार निर्माणको पद्धतिका बारेमा केही कुरा बताउनु भएको थियो । र, बिपी कोईरालाले गणेशमान सिंहको नाजुक आत्म सम्मानको लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैली बारे हाँस्दै भन्नु भा’थ्यो पिएल दाईले–त्यो के “ह्याण्डल बिथ केयर” भन्छन् नि, हो ! बिपीको तेही शैली अहिले चाहिन्छ गणेशमान जीलाई डिल गर्न बुझ्यौ ? बिस २०४२ सालमा नेपाली काँग्रेसले पंचायति व्यवस्थाको बिरूद्ध शुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो काँग्रेसको नेतृत्वमा। गणेशमान जी र गिरिजा बाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठुलो मतभिन्नता झाँगिईदै गएको देखिन्थ्यो। राजाले केही दाव खेलेका थिए । किर्तिनिधी बिष्टको सल्लाहमा गिरिजा बाबु एकाध पटक राजा बीरेन्द्रलाई भेटनु भएको थियो। गणेशमान जीलाई यो मन परेको थिएन। यसले गर्दा सत्याग्रह तर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमान जीलाई लागेको थियो। तर, गिरिजा बाबुको बिचार भिन्नै थियो। उहाँलाई लागेको थियो, पंचायत बिरूद्धको लामो संघर्षले साथीहरूमा थकाई पनि छ। केही साथीहरू पंचायत तिर लागे पनि । राजासंगको यस्तो भेटले नेपाली काँग्रेसको ‘रिकगनाईजेशन’ बढने छ । शांतिपूर्ण आन्दोलनमा हामी राजाले पंछाउन नसक्ने एक पक्ष रहेछौं भन्ने धारणा स्थापित पनि हुन्छ। यसरी सोच्नु हुन्थ्यो गिरिजा बाबु। अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नु भएको थियो । बिद्युत महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शांति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँ गाउँमा गई एउटै बेहोराको निवेदनमा आम जनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राज दरबारमा बुझाउने कुरा थियो गिरिजा बाबुको । तर, गणेशमान जीको चित्त बुझिरहेको थिएन। पंचहरू तथा कम्युनिष्टहरूले यसलाई “बिन्तीपत्रको राजनीति” भनेर प्रचार गरिरहेको थिए । आन्दोलनको लागि काँग्रेसको बढदै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमान जीको ईगोले हम्मेसी स्वीकार्ने बिषय थिएन । यसलाई पंच र कम्युनिष्टहरूले खुब हौस्याएका थिए। पुरै काँग्रेस वृत यसबाट चिन्तित थियो। गणेशमान जी र गिरिजा बाबुका बीच बिचारको बुझबुझारथ हुनु पर्ने सबैको चासो थियो। पार्टी भित्र पिएल दाई र शैलजा दिदी–यी दुई जना मात्र थिए जो दुबै नेताका बीच सहज सम्वादलाई बढाउने सामर्थ्य राख्द्थ्यो । म यही बारेको केही कुरा गर्न त्यस बेला पिएल दाईलाई भेटन गएको थिए ।


हेर जेपी उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन र ! यसैले त मैले “ह्याण्डल विथ केयर” भनेको हुँ । पिएल दाईले नेपाली काँग्रेसको बीरगंज अधिवेशनको कुरो सुनाउनु भयो । बीरगंज अधिवेशनमा पार्टीका धेरै ठूला नेताहरूको सभापतिमा सुवर्ण शम्सेरलाई समर्थन थियो। गणेशमान जीले सुवर्ण शम्सेरलाई सभापति बनाउन चाहनु भएको थिएन । गणेशमान जीले सुवर्ण जी को बिरूद्ध कुनै बलियो उम्मेदवार पाउनु भएको थिएन । बिपीले पनि सुवर्ण जीलाई नै समर्थन गर्नु भएको थियो। यो पनि गणेशमान जीलाई मन परेको थिएन। बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्ण जीलाई मत दिएर यदि गणेशमान जी एकदमै थोरै मत पाएर पराजित हुनु भयो भने उहाँलाई ठुलो धक्का लाग्नेछ। पैसा र धनका धनीको काँग्रेस भयो। मेरो त्यागको कुनै मान्यता भएन भने कुराले गणेशमान जीलाई बडो दुःखी तुल्याउने छ । यो ठुलो चिन्ता थियो बिपीलाई । अनि गणेशमान जीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना बिश्वासी केही साथीहरूलाई गणेशमान जीको पक्षमा मत दिन अर्हाउनु भएको थियो। शायद बिस २०१२ साल तिरको कुरो हो यो। पिएल दाईले पाउँपैदल हिडिरहेको मलाई सोध्नु भएको थियो– ल भन जेपी, आज काँग्रेसमा को छ र यसरी गणेशमान जीलाई ह्याण्डल गर्ने?
काँग्रेस भित्रको तेस समस्याको तेस बेला समाधान भयो। सबैले सत्याग्रहलाई बढाए । राजा समक्ष निवेदन पनि दिईयो। राजाका प्रमुख सचिव पशुपति भक्त महर्जनले लाखौं जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन्। राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाईयो । अन्ततः गणेशमान जी काँग्रेस छोडनु भयो। उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमान जीको पार्थिव देह उठाईदाँ र त्यस महायात्रमा हिडदाँ मलाई लागेको थियो–गणेशमान जीको मृत्यूलाई त किमार्थ पंछाउन सकिन्न्थ्यो । तर, यदि तेस दिन पिएल दाईले भन्नु भए अनुसार बिपीले गणेशमान जीलाई सम्हाल्ने गरे जस्तै त्यस बेलाका नेताहरूले सम्हालि दिएको भए पशुपतिसम्मको गणेशमान जीको यात्रा अझ महान हुने थियो । त्यस दिन रूग्ण पिएल दाईसंगै उहाँको सानिध्य उहाँ कै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेए आयो । पुराना तेस कुरामा बगेको मलाई थाहै भएन यस बीच पिएल दाईले आफु गंभीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । उनि मैले गहिएर उहाँलाई हेरे। आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाई बातबातमा मेरो नाम लिनु पर्दा जेपी आनन्द बोल्नु हुन्थ्यो । यो नयाँ कुरा थिएन। तर यसले मेरो उहाँसंगको लामो सम्बन्धको झल्को दिन्थ्यो। अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन्। धेरै बेर कुरा भयो। मेरो गाउँको घर पनि पुगेको संझना आयो उहाँलाई। एकसरो धेरै कुराहरू सुनाउनु भयो । सबैभन्दा बढी याद आई रहेको छ, पिएल दाईले भनेको–जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु !” शायद उहाँले यो कुरो म भित्रको मलाई भन्नु भएको थियो । लगभग बर्ष दिन पहिले, शायद असोज ९,२०८० को कुरो हो यो । म फेरीपनि लेख्नेछु पिएल दाई प्रेमलाल सिंहको बारेमा सोचेको थिए । आज उहाँको देहावसानको समाचार सुने । शान्तिका साथ त्यहाँ रहनु हुनेछ पिएल दाई ।

तपाईको प्रतिक्रिया