काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति महारथि अशोकराज सिग्देलको आतिथ्यपूर्ण निमन्त्रणमा बुधबारदेखि पाँचदिने नेपाल भ्रमणमा आउनु भएका भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभिएसव्मलाई विहीबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ । आतिथ्यपूर्ण औपचारिक भ्रमणमा आउनु भएका जनरल द्विवेदीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्न प्रधान सेनापति महारथि सिग्देलका तर्फबाट उपरथी मधुकर सिंह कार्की, भारतीय राजदुतावास रक्षा सहचरी (डिए) बी. सुब्रमव्यम तथा दुतावासका अन्य कर्मचारीहरु पुग्नु भएको थियो । विहीबार विहान भारतीय स्थल सेनाध्यक्ष एवम् प्रमुख द्विवेदीले एक समारोहबीच सैनिक मञ्च टुँडिखेलस्थित वीर सैनिकहरुको स्मारकमा भावपूर्ण माल्यार्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । लगत्तै उहाँ नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगी प्रधान सेनापति सिग्देलसँग भेटवार्ता गरी द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्न जोड दिनु भएको थियो । त्यसभन्दा अगाडि जंगीअड्डा पुग्दा जनरल द्विवेदीलाई उहाँको सम्मानमा नेपाली सेनाको एक टुकुटीद्वारा सम्मान गारत अर्पण गरिएको थियो । जनरल द्विवेदीलाई नेपाली सनाको युद्धकार्य महानिर्देशनालय (डिजिएमओ) ले विस्तृत रुपमा ब्रिफिङ गरेको थियो । सो अवसरमा सेना पत्नी कल्याण संघ भारतकी अध्यक्ष श्रीमति सुनिता द्विवेदीले सैनिक श्रीमति संघ नेपाली सेनाका महिलाहरुसँग विशेष अन्तरक्रिया गर्नुभएको थियो ।


वि.सं. २०२७ सालदेखि विशिष्ट एवम् अतुलनीय परम्परालाई निरन्तता दिँदै विहीबारै नेपालका राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौड्यालले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय स्थल सेनाध्यक्ष एवम् प्रमुख जनरल द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह, खड्ग र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने नेपालका सेना प्रमुख र भारतीय सेनाका प्रमुख एक अर्का देशका मानार्थ महारथी रहने परम्परा रहँदै आएको छ । महारथीको मानार्थ दज्र्यानी ग्रहणसँगै जनरल द्विवेदीले राष्ट्रपति रामचन्द्र पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उक्त समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनाथ अर्याल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, नेपाली सेनाका प्रधान सेनापति महारथि अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, भारतीय राजदुतावासका रक्षा सहचरी, जनरलसँगै आउनु भएका भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु र दुवै देशका अन्य बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीसँग सिंहरदबारमा भेटघाट
जनरल द्विवेदीले आफ्नो पाँचदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।
उक्त भेटवार्तामा जनरल द्विवेदीसँगै भारतीय राजदूत, रक्षा सहचरी तथा प्रतिनिधि मण्डलका अन्य सदस्यहरुसमेत सहभागी रहनु भएको थियो । उहाँले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्न पाउनु सौभाग्यको कुरा भएको बताउनु भएको थियो । सो भेटघाटका क्रममा दुवै देश तथा सेनाबीचको उत्कृष्ट द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । भारत र नेपालबीचको व्यापक सैन्य तथा द्विपक्षीय सम्बन्धमा बारेमा विचार आदान प्रदान गर्न जनरल द्विवेदीले रक्षामन्त्रीसँग पनि सिष्टाचार भेटवार्ता गनुभएको थियो । उहाँले हामी सबै मिलेर दुई देशबीचको रक्षा सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाईमा पु¥याउनु पर्ने कुरामा जोड दिएको भारतीय दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु अगाडि सेना प्रमुख द्विवेदीले शिवपुरीस्थित नेपाली आर्मी कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्नुभएको थियो । नेपाली सेनाको सैनिक तालिम महादिर्नेशनालयका उपरथी धुव्रप्रकाश शाह तथा नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका कमान्डेन्टले उहाँलाई स्वागत गर्नुभएको थियो । सो अवसरमा जनरल द्विवेदीले आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थी, अफिसरहरुलाई छोटो सम्बोधन समेत गर्नुभएको थियो ।
वीरता पुरस्कार विजेताहरुलाई सम्मान
जनरल द्विवेदीले मंसिर ८ गते पोखरास्थित पेन्सन वितरण कार्यालयको समेत भ्रमण गर्नुभएको थियो । कार्यालय परिसरको खुल्ला चौरमा भारतीय भूतपूर्व सैनिकहरुको र्यालीलाई उहाँले सम्बोधन समेत गर्नुभएको थियो । समारोहमा उपस्थिति वीरता पुरस्कार विजेता एवम् वीर नारीहरुलाई सम्मान गर्दे जनरल द्विवेदी र सेना पत्नी कल्याणसँग (भारतीय सेना) की अध्यक्ष श्रीमति सुनिता द्विवेदीले गोर्खा सैनिकहरुको वहादुरीको प्रशंसा गर्दै उनीहरुको शाहस र राष्ट्रपतिको समर्पित सेवालाई सलाम गर्नुभएको थियो । सोही दिन उहाँले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष वल्लभ पौड्याल र अन्य स्टाफ अफिसर्ससँग अन्तरक्रिया गर्नुभएको थियो ।
मुक्तिनाथ मन्दिरमा पूजाअर्जना
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शनिवार मनाङस्थित मुक्तिनाथ मन्दिर पुगी पूजाअर्जना गर्र्नुभएको थियो । मनाङ्गस्थित मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने आफ्नो अभिलाषा पूरा भएको उहाँले बताउनु भएको छ । मुक्तिनाथ मन्दिरको दर्शन गर्न पाउनु आफ्नो अहोभाग्य भएको समेत उहाँले बारम्बार दोहो¥याउनु भएको थियो । जनरल द्विवेदीसँगै श्रीमति सुनिता द्विवेदी लगायत भारतीय राजदुतावासका कर्मचारीहरु समेत मुक्तिनाथ मन्दिर पुग्नु भएको थियो । पाँचदिनको औपचारिक भ्रमणपश्चात भारतीय सेना प्रमुख जनरल द्विवेदी आइतबार स्वदेश फर्कनु भएको छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल सरकार नेपाली सनाका प्रधान सेनापतिले देखाउनु भएको न्यानो एवम् सौहाद्र्धपूर्ण आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।












