धरान । आज बडा दशैको नौरथा अन्तर्गत तस्रोे दिन माताको नौ स्वरुप मध्ये चन्द्रघण्टाको पूजाआजा गरिदैछ । कोशी प्रदेशकै एक मात्र दन्तकाली पीठमा भक्तजनहरु देवीको पूजाआजाका लागि विहानैदेखि मन्दिरमा पुग्ने गरेका छन् । तर यस बर्ष भने विगतका दशैमा हुने भीडभाजस्तो भीडभाड दन्तकाली मन्दिरमा देखिएन । नौरथाको समयमा भीडभाड हुने दन्तकाली मन्दिरमा भीड नहुनुको प्रमुख कारण आर्थिक मन्दी र भर्खरै देशमा आएकौ बाढी पहिरोले पु¥याएको क्षति नै प्रमुख कारण भएको बताइएको छ । मुलुकका अन्य शक्तिपीठजस्तै धरानको दन्तकाली पीठको ऐतिहासिक महत्व रहेको छ । अन्य बेलामा यो शक्तिपीठमा पूजाआजा गर्न फाट्टफुट्ट आउने गरे पनि दशैको नौरथा लागेपछि यो मन्दिरमा देवीका अनेक स्वरुपको पूजाआजा गर्ने भक्तजनहरुको भीड नै लाग्ने गरेको छ । तर देशमा केही दिन अगाडि परेको अविरल बर्षाका कारण बाढी पहिरोले पु¥याएको क्षतिका कारण धरान भन्दा बाहिर भारतसम्मका सर्वसाधारण सडक सञ्जालका कारण आउन नसकेका कारण विगतको भन्दा भक्तजनमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
ऐतिहासिक पृष्ठभूमि बोकेको दन्तकाली शक्तिपीठमा दशैको नौरथाभरि दुर्गा माताका अनेकन रुपको पूजाआजा गर्न आउने गरेका छन् । अन्य बैला पनि समयसमयमा पूजाआजाका लागि आउने गरे पनि नौरथाको विशेषता नै फरक भएकोले दर्शन गर्न आएको मन्दिरमा दर्शन गर्न पुगेकाहरुले बताएका छन् ।

वास्तवमै यो मन्दिरप्रति सर्वसाधारणको आस्था बढेको पाइएको छ । धरान १५की अञ्जु सापकोटाले दशैको नौरथाको समयमा दन्तकाली मन्दिरको दर्शन गर्दा परिवारको सुखशान्तिसँगै चिताएको पुग्ने भएकोले नौरथाको समयमा बर्षेनी आउने गरेको बताउनुभयो । कोशी प्रदेशकै एक मात्र ऐतिहासिक पृष्ठभूमि बोकेको दन्तकाली मन्दिरमा नौरथामा नेपालबाट मात्र हैन भारतबाट समेत दर्शन गर्न आउने गरेका छन् । तर यस बर्ष भने बाढी पहिरोले समस्या ल्याएकोले मन्दिरमा आएर पूजाआजा गर्नेको संख्यामा कमी आएको मन्दिरका पूजारीहरु बताउँछन् । दन्तकालीका पूजारी विश्वराज खनालले फूलपाति भित्रिनेवित्तिकै दन्तकालीमा कालरात्रीको पूजाआजा हुने गरेको बताउनुभयो । कालरात्रीको पूजा अन्य ठाउँमा भए पनि रातभरि पूजा गर्ने प्रचलन दन्तकालीमा मात्र रहेको दाबी गर्नुभयो । दन्तकाली मन्दिर धरान उपनगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा रहेको छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । यो मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।
