भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने १२ वटा विकास परियोजनामा हस्ताक्षर

काठमाण्डौ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सँस्कृति लगायतका क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामा असोज ७ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको कुल अनुमानित लागत नेरु ४७ करोड ४ लाखको अनुदान सहयोग अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सँस्कृति क्षेत्रका १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अगाडि बढाउन त्यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा भारतीय राजदुतावास काठमाण्डौ, नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरु बीचमा हस्ताक्षर भएको थियो । त्यसरी कार्यान्वयन हुने १२ वटा परियोजनाहरुमा ओखलढुंगा सिद्धिचरण नगरपालिकास्थित श्री राज्यलक्ष्मी माध्यामिक विद्यालय भवन निर्माण, ओखलढुंगाकै मानेभन्ज्याङ्ग गाउँपालिकास्थित श्री स्वर्ण–तरल आधारभूत विद्यालय भवनको निर्माण, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण वहुद्धेश्यीय प्रतिष्ठान भवनको निर्माण, दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वहुद्धेश्यीय विद्यालय भवनको निर्माण, मोरङ्गको सुन्दर हरैचन नगरपालिकास्थित पञ्चायत माध्यामिक विद्यालय भवनको निर्माण, चितवनको रत्ननगर नगरपालिकास्थित वछौली माध्यामिक विद्यालय भवनको निर्माण, सोलुखुम्बुको सोताङ्ग गाउँपालिका बसेपु–हलु खानेपानी आयोजनाको निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यामिक विद्यालय भवनको निर्माण, बाजुराको स्वामि कार्तिक खापर गाउँपालिकामा खाद्यान्न संकलन तथा वितरण केन्द्रका लागि भवन निर्माण र दाङ्गको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण रहेका छन् ।


निर्माण हुने यी परियोजनाहरुले स्थानीय समुदायलाई शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र साँस्कृतिक सुविधाहरु उपलब्ध हुने सम्झौतापत्रमा हस्ताक्षरका समय दुवै पक्षको विश्वास थियो । सन् २००३ यता भारतले १२ वटा परियोजनामा हस्ताक्षर भएसहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परिरियोजनाहरु अगाडि बढाइएको छ र नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेडिङ्ग, खानेपानी, विद्युतीकरण, सिचाई, सँस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । बाँकी अन्य परियोजनाहरु विभिन्न चरणमा सञ्चालनमा रहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र वहुद्देश्यीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकता क्षेत्रमा पूर्वाधारका विकास गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको छ ।

तपाईको प्रतिक्रिया