धरान । सामारिक दृष्टिले सर्वाधिक महत्वको मात्र नभएर भारत र चीन जोड्न्े सबैभन्दा छोटो दूरीको ओलाङचुङगोला–टिप्तला भन्ज्याङ सडकको ट्रयाक पूर्ण रुपमा खुलेको छ । तमोर करिडोरको पाँचथरस्थित सुभाङ्गखोलालाई जिरो माइल मानेर ओलाङचुङगोला टिप्तला भन्ज्याङ सम्मको १२१ किमी सडकको ट्रयाक खुलेसँगै साना सवारी साधनहरु नेपाल चीन सीमावर्ती क्षेत्र टिप्तला भन्ज्याङसम्म जान थालेको ओलाङचुङगोला सडक आयोजनाका प्रमुख सिंहबहादुर विस्टले जानकारी दिनुभयो । यद्यपि यो सडकको ट्रयाक एक बर्ष अगाडि नै खुलिसक्नु पर्ने थियो । तर सुकेपानी स्थित कडा चट्टाने भीर र कञ्चजंघा वन्यजन्तु
आरक्षण केन्द्रको स्वामित्वमा रहेको जमिन र जंगलका रुखहरु काट्ने् सम्बन्धी कानुनी प्रक्रिया लम्बिदा सडकको ट्रयाक खुल्न ढिलाई भएको थियो । आयोजना प्रमुख विष्टले भन्नुभयो ढिलै भएपनि ओलाङचुङगोला टप्तला भन्ज्याङ सडकको ट्रयाक पूर्ण रुपमा खुलेको छ । सुकेपानीका चट्टाने भीर विस्फोटक पदार्थ प्रयोग गरेर खुले तापनि त्यस भन्दा अगाडिको ट्रयाक विगतमै खुले तापनि पहिरोले बगाएको, ठाउँ ठाउँमा पहिरोले ढुंगा माटो थुपारिदिएको थियो । ठेकेदार कम्पनी एलाइट जेभिले असारमै पहिरो पन्छाएर सडकको मर्मत गरेका कारण टिप्तला भन्ज्याङसम्म साना सवारी साधन जान थालेको हो ।
सुुभाङ्ग खोलादेखि थिवासम्म स्तरोन्नति


तमोर करिडोर अन्तर्गतको पाँचथरको सुभाङ्ग खोला भन्दा अगाडिको थिवासम्मको ५७ किमी सडक स्तरोन्नति तथा ग्राभेल स्तरसम्मको निर्माणका लागि हाल तीन चरणमा ठेक्का लागेको छ । सु्भाङ्ग खोलालाई जिरो माइल मानेर त्यस भन्दा अगाडिको २० किमी रायमाझी सुवर्ण जेभी, त्यसभन्दा अगाडिको २० किमी हिम्दुङ्गग एण्ड थोकर दिवस एस.ए.एस जेभीले र त्यसभन्दा अगाडिको १७ किमी कुमार जेभीले ठेक्का सरकारेका छन् । हाल उनीहरुले स्तरोन्नतिको कामलाई तिब्रता दिएका छन् । तीन मिटर मात्र ट्रयाक रहेकोमा अब सडक ७ मिटरको पिच र एक–एक मिटर नाला गरी नौ मिटर हुने आयोजना प्रमुख विष्टले जानकारी दिनुभयो । विष्टका अनुसार थिवादेखि ओलाङचुङगोला सम्मको ४३ किमी सडक स्तरोन्नतिको टेन्डर पहिल्यै भइसकेको र काम तिब्र रुपमा भइरहेको छ । ओलाङ्गचुङ्गगोला देखि टिप्तला भन्ज्याङ्ग सम्मको २१ किमी सडकको ग्राभेल स्तर सम्मको स्तरोन्नतिका लागि बजेटमा सहमतिको प्रक्रियामा रहेको छ ।
दुई पुलको निर्माण कार्य अन्तिम चरणमा
तमोर करिडोर अन्तर्गतको ओलाङचुङगोला सडक खण्डमा झण्डै २५ वटा पुल निर्माण गर्नुपर्नै भएपनि सबै भन्दा ठूला दुई वटा पुल निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ । तमोर खोलामाथि सपना÷यक्थुक्हाङ जेभी काठमाण्डौले स्टिल ट्रष्ट आरसिसी पुलको निर्माण गरिरहेको छ । ३ करोड ३७ लाख १ हजार १ सय ३२ रुपैयाको लागतमा निर्माण भइरहेको यो पुलसँगै तापमेवा खोलामा पाथीभरा रुविना जेभी काठमाण्डौले ३५ मिटर लामो पुल Steel and concrete composite single span यो पुल समेत ३ करोड ३६ लाख १ हजार १ सय ३२ रुपैयामा निर्माण भइरहेको छ ।
