सागुरीगढी गाउँपालिकाले पदयात्राको विकास गर्ने

धरान । धनकुटा र सुनसरीको संगम स्थल सागुरीगढी गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको रुपमा रहेको छ । कोशी प्रदेशले समय यहाँको पर्यटन प्रवद्धनमा धेरै सहयोग पु¥याउँदै आएको छ ।

पर्यटनमा दीर्घकालीन सोच राखेर लगानी गर्ने गाउँपालिकाको उद्देश्य अनुरुप गाउँपालिकाले ऐहासिक किराती स्थल खुवालुङदेखि ध्वजे डाँडासम्मको माथिल्लो महाभारत रेन्चलाई पदमार्गको विकास गर्दै लाने गाउँपालिकाका अध्यक्ष जितेन्द्री रुम्दानीले केही समय अगाडि एक कार्यक्रममा घोषणा नै गर्नुभएको थियो । गाउँपालकाको नगरसभाबाट समेत पारित गरिएको सो पदमार्गबाट तराई, पहाड र हिमाल तीनवटै भूभाग राम्ररी देख्न सकिने भएकोले साँगुरी गढीका सबै क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्दै पर्यटकको केन्द्र विन्दु बताउने तयारी रहेको बताउनुभयो । यहाँ आउने पर्यटकहरु साँगुरी गढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् । अहिले थप पर्यटन तान्ने उद्देश्यले विगतमा चाल्र्सपोइन्ट भन्ने स्थानमा स्काइ वाक समेत सञ्चालनमा ल्याइएको छ । त्यसको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो । स्काईवाक सञ्चालनपछि दैनिक २ सयदेखि ३ सय पर्यटक स्काइवाकको मजा लिनकै लागि आउने गरेको स्काइवाक सञ्चालनकर्ताहरुले बताएका छन् । इलाम, काठमाण्डौपछि धनकुटाको सागुरी गढी गाउँपालिकाको भेडेटारमा स्काइवाक सञ्चालनमा ल्याएको र दैनिक ५ सय जनाले वाक गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सञ्चालकको भनाई छ । स्काईवाक सञ्चालनपछि धरानको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ । पर्यटनको इटा थप्ने क्रम बढ्दै जाँदा पदमार्गलाई समेत जोडेर लाने गाउँपालिकाको योजना रहेको छ । पर्यटन प्रवद्र्धन हुने खालका योजनाहरु अगाडि बढाउदै गएका कारण भेडेटारको चिसो हावापानी, मनोरम पर्यटकीय दृश्य नियाल्न आन्तरिकमात्र हैन भारतको दार्जिलिङ, सिक्किम तथा विहारसम्मका पर्यटक आउने गरेका छन् । नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्दा सम्भावना धेरै रहेका छन् । भेडेटारले भने पर्यटन प्रवद्र्धनमा जोड दिएकै कारण त्यहाँ सञ्चालन भएका साना तथा ठूला गरी करिब २ सय होटल चलायमान रहेका छन् । यसले होटल व्यवसायीहरुको रोजीरोटीमा समेत टेवा पु¥याएको छ । पर्यटनका पूर्वाधारसँगै विकास गर्दै जाने क्रममा पदमार्ग समेत सञ्चालनमा आएमा भेडेटार लगायत साँगुरीगढीका विभिन्न ठाउँ समेत चलायमान बन्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।

तपाईको प्रतिक्रिया