भारतीय विदेश सचिवको भ्रमण : मैत्रीपूर्ण सम्बन्ध र पूर्वाधार परियोजनाको निरन्ततामा जोड

धरान । नेपालका पराराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्कनु भएको छ । भारतीय विदेश सचिव मिश्रीले श्रावण २७ र २८ गते नेपाल भ्रमण गर्नुभएको थियो । सचिव मिश्रीले आषाढमा भारतीय विदेश मन्त्रालयको सचिवको पदभार सम्हालेपछिको यो नै उहाँको पहिलो नेपाल भ्रमण हो । विदेश सचिव मिश्रीले सोमबार आफ्ना नेपाली समकक्षीहरुलाई भेट्नु भएको थियो । उहाँहरुबीच भएको वृहत छलफलले भारत र नेपालबीचको वहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको थियो । दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि आवसरहरुका सम्बन्धमा छलफल गर्नुभएको थियो । नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले भ्रमणमा संलग्न रहनु भएका भारतीय प्रतिनिधि मण्डलका लागि दिवाभोजको आयोजना समेत गर्नुभएको थियो ।


भारतीय विदेश सचिव मिश्रीले सोमबार नेपालका राष्ट्रपति रामचन्द्र पौड्याल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति पौड्याल र प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गर्दै उहाँले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध पक्षहरुमा भइरहेको प्रगतिका सम्बन्धमा जानकारी गराउनु भएको थियो । यसैगरि भारतीय विदेश सचिव मिश्रीले सोमबारै उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्याल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरुसँगको भेटवार्तामा विभिन्न पारस्परिक लाभदायी क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको थियो । भेटका अवसरमा दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालकबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिनु भएको थियो । दुवै पक्षले हालैको बर्ष द्विपक्षीय सहकार्यलाई विशेष गरी कनेक्टीभिटीका विभिन्न क्षेत्रहरु जस्तै भौतिक, डिजिटल, ऊर्जा र जनता जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गर्दै सडक, पुल, एकीकृत भन्सार जाँच चौकी, अन्तरदेशीय रेलवे साथ साथै पेट्रोलियम पाइप लाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा जोड दिइएको थियो । दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएका प्रगतिको प्रशंसा गर्नुभएको थियो । पछिल्ला बर्षहरुमा ऊर्जा सहकार्यको क्षेत्रमा नेपालमा उल्लेख्य प्रगति भएको छ । पछिल्ला दुई तीन बर्ष यता नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गरेकोमा दुवै पक्षले खुशी व्यक्त गरेका थिए । सन् २०२६ सालमा नेपाललाई अति कम विकसित राष्ट्र (एलडिसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिका माथि पनि छलफल भएको थियो । आफ्नो भ्रमणका क्रममा विदेश सचिव मिश्रीले नेपालका विभिन्न राजनैतिक दलका बरिष्ठ नेतृत्व साथै नेपालका नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नुभएको थियो ।
भारतीय विदेश सचिव मिश्रीले नेपाल भ्रमणका क्रममा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालसँगै काठमाण्डौको केन्द्रमा रहेको रक्तकालीमा प्रख्यात नेपाली कवि कवि केशी चित्तघर हृदयसँग सम्बद्ध ऐतिहासिक आवासीय भवन नेपाल भाषा परिषदको पनि संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । वि.सं २०७३ सालको महाविशनासकारी भूकम्प पछि भारत सरकारको सहयोगमा अघि बढाइएका २८ वटा साँस्कृतिक क्षेत्र पुननिर्माण परियोजनामध्येको यो एक हो । भारतीय राजदुतावासद्वारा सोमबार जारी विज्ञप्ती अनुसार छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकताको निकट छिमेकी हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तता दिनका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्धत गरेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया