लामो सत्ता राजनीतिको किचलो पश्चात नेपाली काँग्रेस र एमाले बीचको सहकार्यले मुलुकमा राजनैतिक स्थिरताको संकेत देखिएको छ । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि सात दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएका दुई दलबीचमा यस भन्दा अगाडि नै सहकार्य भइदिएको भए मुलुक यतिविघ्न अद्योगतितर्फ उन्मुख हुने थिएन होला । जे होस ढिलै भएपनि राजनैतिक स्थिरताको लागि दुई दल बीचमा आगामी ८४ सम्मका लागि सहकार्य भएको छ । दुई ठूला दलबीच सहकार्य भएमा आफूहरुको राजनैतिक पतन हुने कुरालाई मनन गरेर मिल्न नदिने प्रपञ्च भइरहयो । आफ्नो हैसियत भन्दा ठूलो पदमा त्यस्ता अपाच्य राजनैतिक दलहरु आशिन भइरहे । यसले एकातिर जनमतको भद्धा मजाक गरेको थियो भने राजनीतिक अस्थिरताले आम नागरिकमा धेरै निराशा पैदा गरेको थियो । दुई ठूला दलबीच खेलेर मुलुकको कार्यकारी अधिकार प्रयोग गर्ने आज सडकमा पुगेका छन् । अकस्मात अपाूहरु सत्ताबाट विमुख हुनुपरेको पीडा उनीहरुको बर्बराहटबाट बुझ्न कसैलाई गाह«ो छैन । कुनै आदर्श, सिद्धान्त, भविष्य समेत नभएको छद्मभेषी रास्वपाबाट एकथरि नागरिकले थोरै भएपनि अपेक्षा गरेका थिए । माओवादी र एकीकृत समाजवादी प्रतिको सोच, दृष्टिकोण आम नेपालीमा प्रारम्भदेखि नै नकरात्मक थियो । आज यी तीन दल वा क्लब एकै ठाउँमा उभिन पुगेका छन् । सत्ताबाट विमुख भएपछि यिनमा छटपटाहट, औडाहा देखिएको यिनका बोली र व्यवहारले प्रष्ट पारिसकेको छ । माओवादीका अध्यक्ष त संविधान संसोधन भएमा आफूहरुलाई मान्य नहुने चेतावनी दिँदै आएका छन् । सडक, सदन सबैतिर अवरोध गर्ने उनको चेतावनी उनैका लागि भारी पर्ने देखिएको छ । संविधान चलायमान दस्तावेज हो । समय अनुसार त्यसलाई संसोधन गर्दै जानुपर्छ । भारत, अमेरिका लगायत देशका सविधान दर्जनौ पटक ससोधन भइसकेका छन् । संविधान समय सापेक्ष बुँदाहरु, धारा, उपधाराहरु परिवर्तन गर्नका लागि संविधानमै दुई तिहाई सांसदहरुको समर्थन आवश्यक रहने स्पष्ट प्रावधान छ । नेपालमा हाल ८० भन्दा बढी राजनैतिक दलहरु छन् । राजनीतिलाई नेपालमा धन्दा बनाइएको छ । चाडै आर्जन गर्न माध्यम बनाइएको छ । यो गलत हो । अब संसोधनको एजेण्डा सहित दुई दलबीचको सहकार्यले जथाभावि राजनैतिक दल खोलेर मुलुकलाई अस्थिर बनाउने पद्धतिलाई नियन्त्रण गर्न आवश्यक भइसकेको छ । पश्चिमका अति सम्पन्न र विकसित राष्ट्रहरुमा समेत दुई दलको मात्र अस्तित्व कायम गरिएको छ। नागरिकले रुचाए मुताविक एउटा दलले वहुमतको आधारमा मुलुकको शासन पछि सम्हाल्छ भने अर्को दलले उसका हरेक गतिविधिलाई निगरानी गर्ने, गलत कुराको प्रतिवाद गर्ने, सही कार्यको समर्थन गर्ने गर्छन् । त्यसैले पनि मुलुकको वर्तमान संविधान दुई तिहाइबाट संसोधन गरेर दुई दलीय व्यवस्थामात्र कायम गरिनुपर्छ । यसो भएमा मुलुकमा राजनैतिक स्थिरता कायम हुनेमा सन्देह रहँदैन । यदि आजको संविधानको विवादित बुँदाहरु परिवर्तन नगर्ने हो भने आगामी ५ सय बर्षसम्म पनि नागरिक एक आपसमा लड्ने, लडाउने कार्य भइरहन्छ । सबै अटाउने, सबैले सम्मानबोध गर्ने, सबैले समान अधिकार पाउने वातावरणको सिर्जना गर्नुपर्छ । विभेद चाहे त्यो जुनसुकै नाममा होस् त्यसको अन्त्य गर्नैैपर्छ । यसका लागि वर्तमान सत्ता गठबन्धनसँग दुई तिहाइ मत छ । यो परिस्थिति पुनः प्राप्त नहुन पनि सक्छ ।