नेपालको नोबेल पुरस्कारको रुपमा रहेको सर्वाधिक राशीको पुरस्कार प्रदान गर्दै आएको मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि पाँच कृतिहरु छनौट गरेको छ । साहित्य, दर्शन, सँस्कृति, इतिहास, कथा, उपन्यास लगायतका विद्यामा लेखिएका उत्कृष्ट पुस्तक र लेखकलाई गुठीले हरेक बर्ष मदन पुरस्कार वितरण गर्दै आएको छ । स्व. जगदम्बा महारानीले स्व.मदन शमशेर राणाको स्मृतिमा मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते गर्नुभए पनि पुरस्कार प्रदानको थालनी २०१३ सालदेखि भएको हो । पहिलो पटक हाम्रो लोक सँस्कृतिको सर्जक सत्यमोहन जोशीको २०१३ सालमा प्रकाशित कृतिलाई २०१४ सालमा उक्त पुरस्कार प्रदान गरिएको थियो । जोशीसँगै चित्ररञ्जन नेपाली र बलराम जोशीका कृतिलाई समेत पुरस्कृत गरिएको थियो । प्रारम्भमा एक भन्दा बढी उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने र पुरस्कारको राशी २ हजार रहेको थियो । हाल एकमात्र उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने र पुरस्कारको राशी ४ लाख रहेको छ ।
गुठीले श्रावण ८ गते २०८० सालमा प्रकाशित भएका तीनसय चार पुस्कारहरु मध्ये पाँचजना सर्जकका पाँचवटा कृतिहरुलाई पहिलो चरणमा छनौट गरेको हो । त्यसरी पहिलो चरणमा छनौटमा परेका कृतिहरुमा भक्त स्याङताङको ‘डम्फुको आत्मलाप,मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन तेल’, भावेश भुमरी र प्रविण चाम्लिङको ‘भावलिपी’ र रोशन थापाको ‘निरवको सन्त्रासका साठी दिन’
रहेका छन् । छनौट भएका पाँच कृतिमध्ये एक उत्कृष्ट कृतिलाई मदन पुरस्कार २०८० प्रदान गरिनेछ ।