बसन्तपुर । दमै बाजाको नामले चिनिने नेपालको परम्परागत राष्ट्रिय बाजा ‘पञ्चे’ को संरक्षणमा यतिबेला तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिका (बसन्तपुर) वडा नं. ७ मा बसोबास र्गै आएका मगर समुदायहरु जुटेका छन् । नेपालमा हरेक समुदायले शुभ कार्यमा प्रयोग गर्दै आएको पञ्जे बाजा बजाउनेहरुको पछिल्लो समय अभाव हुँदै गएपछि त्यसलाई लोप हुन नदिन मगर समुदायहरु संरक्षणमा जुटेका हुन् ।
पञ्चे बाजा तथा नौमति बाजा विस्तारै हराउदै गएको, त्यसको सट्टामा भड्किला व्याण्ड बाजा, विदेशी गीत संगीतहरुले प्रश्रय पाउँदै गएको महसुस गरेर यसको संरक्षणमा जुटेको सुङनामका धनकुमार मगरले बताए । उनले भने यही परिस्थिति रहने हो भने अहिलेका पुस्तामा विदेशी बाजाप्रतिको मोह बढ्दै जाने हो भने नौमति बाजा बजाउने नै नरहलान् जस्तो भएर हामीले एक आपसमा सल्लाह गरेर यसको संरक्षणमा जुटेका हौं । सुङनामकै रमेश मगरले भन्नुभयो आजकल विवाह, ब्रतबन्ध लगायतका चाडपर्वमा नौमति बाजा बजेको सुन्न छाडिएको छ । बाजा बजाउनका लागि यतिबेला १५ जना मगरहरुले तालिम लिइरहेको पनि उहाँले सुनाउनु भयो । हाल उनीहरुले दुई नरसिंगा, दुई दमाहा, दुई ट्याम्का, दुई सनाई र एउटा झ्याली जोहो गरेर तालिम लिइरहेको उहाँले बताउनुभयो । नौमति बाजाका लागि यतिको सामाग्री भए पुग्ने तालिम समेत लिइरहेका रमेश मगरले बताउनुभयो ।