धरान । स्वचालित प्रणालीको हौवा दिँदै आएको नेपाल आयल निगमले आइतबारदेखि डिजल र पेट्रोलको मूल्यमा भारी बृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाएको भन्दै निगमले सोमबारदेखि लागू हुने गरी डिजलमा पाँच रुपैया र पेट्रोलमा दुई रुपैया मूल्य बृद्धि गरेको हो ।

नेपाल आयल निगमका अनुसार हाल बृद्धि भएको मूल्य दुरी अनुसार थप हुने भएको छ । यसैगरि निगमले हवाई इन्धनको मूल्य र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । यसभन्दा अगाडि नै एलपी ग्याँसमा भारी नोक्सान भएको भन्दै मूल्य बृद्धि गरिसकेको थियो । हाल बृद्धि गरिएको मूल्य अनुसार चारआली डिपो, विराटनगरस्थित कोशी प्रदेशको कार्यालयको डिपो, जनकपुर डिपो, अमलेखगञ्ज डिपो, भलवानी डिपो, नेपालगञ्ज डिपो, बीरगञ्ज डिपोबाट पेट्रोल प्रतिलिटर १६४.५० पैसा र डिजेलको मूल्य १५४.५० पैसा निर्धारण गरिएको छ भने सुर्खेत र दाङको डिपोबाट पेट्रोल १६६ र मट्टितेल, डिजलको १५६ रुपैया कायम गरिएको छ । उता काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल १६७ र डिजल १५७ रुपैया निर्धारण गरिएको आयल निगमले जनाएकोे छ ।
