एसइइको नतिजा असार १४ गते आउने

धरान । यस बर्षको माध्यामिक शिक्षा परिषद एसइइको नतिजा असार १४ गते आउने भएको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालय काठमाण्डौका अनुसार ढिलोमा असार १४ गते नत्र त्यसभन्दा अगाडि नै प्रकाशित हुने भएको छ । यस पटकको एसइइ परीक्षामा देशभरिबाट ४ लाख ७० हजार विद्यार्थीले परीक्षा दिएका थिए । विगतका बर्षहरुको तुलनामा यस बर्षको परीक्षाको नतिजा केही भिन्न हुने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विगतमा ९ वटा ग्रेडमा परीक्षाको नतिजा प्रकाशित हुँदै आएकोमा यस पटक भने आठ वटा ग्रेडमा मात्र परीक्षाफल प्रकाशित हुने भएको छ । विद्यार्थीहरुले हरेक विषयको सैद्धान्तिक तर्फ ३५ अंक र आन्तरिकतर्फको मूल्यांकनमा ४० अंक ल्याउनै पर्ने भएको छ । सैद्धान्तिक तर्फ ३५ र आन्तरिकतर्फ ४० अंक ल्याउन नसक्ने विद्यार्थी फेलको सूचिमा रहने बोर्डले जनाएको छ ।


हाल विद्यार्थीले प्राप्त गरेको अंकलाई कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको र ४० प्रतिशत काम सिद्धिएको बोर्डले जनाएको छ । एक पटक प्रविष्ट गरेको प्राप्तांकलाई पुन ः रुजु गर्ने काम समेत हुने भएकोले असार १४ गतेसम्ममा रिजल्ट प्रकाशित गर्ने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया