धरान । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध
कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आउनु भएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्लासहित कदरपत्रले सम्मान
गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उहाँको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँदै आउनुभएका प्रा.डा. शर्माले केएचडिसी नामक कार्यक्रम सञ्चालन गरेर पछिल्लो पटक स्थानीय तहसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी औषधिसमेत वितरण गर्दै आइरहनु भएको छ ।

उहाँसँगै टिममा खटिएका चिकित्सक, नर्स लगायतका टिमलाई सम्मान गर्न पाउँदा ८ नं. वडा समिति धन्य भएको बताइएको थियो । ८ नं. वडा समितिकी सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा परियारले एक महिनासम्म धरान ८ मा रहेका तर स्वास्थ्यमा पहुच नपुगेका सर्वसाधारणलाई वडामै आएर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सेवा पु¥याएकोप्रति धन्यवाद दिनुभयो । सो अवसरमा उहाँले धरान ८ मा रहेका १ हजार ८ सय जनाको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिनुभएको थियो । प्रा.डा शर्माको टिमले गरेको शिविरबाट शिविरमा उपचार आउनेहरुलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क उपचार गराउनु भएको थियो । सम्मान गरेको प्रति खुशी प्रकट गर्दै प्रा.डा. शर्माले समुदायमा गएर निःशुल्क उपचार गराउँदा स्वास्थ्यको पहुच नपुगेका अपांग, असहाय, बृद्धबृद्धाहरु लाभान्वित हुने भएकोले स्थानीय सरकारले अझै आफूहरुसँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिए आफू सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो । सो अवसरमा बोल्दै ८ नं वडासमितिका वडाध्यक्ष धनबहादुर राईले वडाबासीलाई माया गरेर चार हप्ता निरन्तर निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिदिनु भएकोमा केएचडिसी परिवारलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि उहाँहरुसँग सहकार्य गरेर यस्ता प्रकारका कार्यक्रम ल्याउने बताउनुभयो । केएचडिसीले धरान ८ मात्र हैन धरान उपमहानगरपालिकाका धेरै वडाहरुमा वडा कार्यालयसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । यसभन्दा अगाडि पनि कोशी प्रदेशका विभिन्न जिल्लामा समेत केएचडिसीले निःशुल्क शिविरको आयोजना गर्दै आइरहेको छ । यसलाई निरन्तता दिने प्रा.डा. शर्माले सो अवसरमा प्रतिबद्धता समेत जनाउनुभयो ।
