धरान/ अर्थतन्त्रको विकास नभई मुलुकको विकास नहुने भन्दै अब बन्ने संविधानमा मुलुकको आर्थिक विकासलाई बढी प्राथमिकतामा राखेर संविधान निर्माण गर्नुपर्नेमा उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
उद्यो्गी व्यवसायीहरुले सोमबार सुनसरी उद्योग वाणिज्य संघको ३४ औं साधारणसभामा बोल्दै यस्तो माग गरेका हुन् ।
संविधान बन्ने प्राय: निश्चित भएको समयमा उनीहरुले नेपालको आर्थिक प्रगतिको मेरुदण्ड मानिएको कृषि, उद्योग र पर्यटन प्रवद्र्धनका लागि संविधानमा प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले अब मुलुकको आर्थिक विकासलाई ध्यानमा राखेर सविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कृषि, पर्यटन र उद्योग व्यवसायलाई प्राथमिकतामा राखेर उनीहरुले निर्धक्क व्यवसाय गर्न पाउने अधिकार र सुरक्षाको ग्यारेन्टी अब बन्ने संविधानमा उल्लेख हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सुनसरी उद्योग व्यवसायी संघ धरानका महासचिव विजय श्रेष्ठले राजनीतिक दलहरुले नीजी क्षेत्रलाई उपेक्षा गरेर संविधान निर्माण गरे मुलुकको अवस्था दिनप्रतिदिन अधोगतितर्फ धकेलिने बताउनुभयो । उहाले निजी क्षेत्रलाई बढी प्राथमिकतामा राखेर संविधान निर्माण गर्न दलहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त
राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे,उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाई लगायतले समेत अब बन्ने संविधानर्मा निजी क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष सरोज श्रेष्ठले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो भने महासचिव विजय श्रेष्ठले महासचिवको प्रतिवेदन सुनाउनुभएको
थियो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सुनसरीलाई कार्यक्षेत्र बनाएर उत्कृष्ट आर्थिक समाचार लेख्ने ब्लाष्टका सञ्चारकर्मी भोजराज श्रेष्ठलाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
