धरान । धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने चिण्डे डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको भ्रमणका लागि रोजाईको स्थान बन्दै गएको छ ।नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको हो । प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगायत तराईका विभिन्न भागको दृश्य राम्ररी नियाल्न सकिन्छ । सडक जीर्ण भएपनि अहिले यो ठाउँ टूेकिङको रुपमा विकास हुदै गएको छ । यो ठाउँले पोखरा लगायतका अन्य पर्यटकीय क्षेत्रको झल्को दिने गरेको त्यहाँ पुगेका सौरभ कार्की बताउनुहुन्छ । यस ठाउँमा टूेकिङकै लागि जानेहरु एक रात चिण्डेडाडामै विताउने गरेका छन् । धरान लगायत तराईका विभिन्न स्थानको रमणीय दृश्य हेर्न सकिने भएकोले पनि यसलाई वाह्य भन्दा पनि आन्तरिक पर्यटकहरुले रुचाउने गरेका हुन् । यहाँको लागि साहसिक खेल प्याग्लाडिङ गर्नेहरु बढी आउने गरेको चिण्डेडामा होटल सञ्चालन गर्ने प्रेमकुमार राई बताउनुहुन्छ ।

जीर्ण सडक भएकाले यस ठाउँमा आउनेहरुलाई समस्या हुने गरेको छ । स्थानीय सरकारले सडक सञ्जालको पहुच, पर्यटकलाई आवश्यक पर्ने भौतिक पूर्वाधार बनाइदिएको खण्डमा चिण्डेडाँडा आउनेको संख्या बढ्ने भए पनि यस्ता कुरामा स्थानीय सरकारले चासो नदिएकै कारण सोचेजस्तो पर्यटक अझै नआएको होटल सञ्चाल राइको भनाई छ । आजभन्दा ५ बर्ष अगाडि चिण्डे डाँडासम्म पुग्ने बाटो गोरेटोमात्र थियो । अहिले कच्ची सडकसम्म बनेको छ । दुई प्रांग्रे मोटरसाइकल, अटो रिक्सा लगायतका सवार साधन यस ठाउँमा पुग्न सक्छन् । चिण्डेडाँडा पुग्नेहरुले ऐतिहासिक स्थल सुलिकोट, झण्डी डाँडा लगायतका स्थानमा समेत पुग्ने र एक रात बास बसेर आउने गरेको पाइएको छ । चिण्डे डाँडा थोरै तल कालीमाटीमा सेच्छ एड्भेन्जर प्रा.लि.ले पर्यटकलाई तान्न साहसिक पर्यटक स्थलको निर्माण गरको छ । तर सडक जीर्ण भएकै कारण यहाँ आउनेहरुलाई समस्या हुने गरेको छ ।
