काठमाण्डौ । नेपालस्थित भारतीय राजदूतावास काठमाण्डौले आठौ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा पद्धति आर्युवेदको क्षेत्रमा नेपाल र भारतबीच थप सहकार्यको सम्भावना बारे एक विशेष छलफलको आयोजना गरेको छ । गत कार्तिक १६ गते आयोजना गरिएको उक्त छलफल कार्यक्रममा नेपाल सरकार, नेपाल आर्युवेद चिकित्सक संघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल आयुष उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको भारतीय राजदुतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

दुतावासद्वारा जारी विज्ञप्तीका अनुसार उक्त छलफल कार्यक्रममा दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत रनेपालबीच रहेको सहकार्य बारे चर्चा गर्नुका साथै ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान प्रदान मार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न चालिएका विविध पहलमा बारेमा जानकारी दिनुभएको थियो । नियोग उपप्रमुख श्रीवास्तवले यस बर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी २० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि बताउनुभयो । यसैगरि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि गरेको प्रयासका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरि डावर नेपालका प्रमुख हरिकिरत सिंह वेदीले उद्योगको उद्देश्यका सम्बन्धमा जानकारी दिनु भयो । उहाँले कसरी डावरले नेपालबाट जडिबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र यसले स्थानीय समुदायका लागि दिगो जडिबुटी खेति गर्न अवसरहरु प्रदान गरेको छ भन्ने कुरा प्रष्टयाउनु भएको थियो । यस्तै नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्सा प्रमुख अंग भएको र नेपालमा यसको समृद्ध इतिहास भएको जानकारी दिनुभयो । भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक बर्ष धन्वन्तरी जयन्ति (धन्तेरस) मा आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुवेद’ भन्ने रहेको छ । स्वास्थ्य भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवद्र्धनमार्फत भारत र नेपाल बीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदुतवास प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।
