फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको उत्तरी सीमावर्ती ओलाङचुङगोला टिप्तला भन्ज्याङ नाका विगत चार बर्षदेखि पूर्ण रुपमा बन्द हुँदा सीमावर्ती क्षेत्रका स्थानीयको जीवनस्तर कष्टकर बन्दै गएको छ । चीनले चार बर्ष अगाडि अर्थात २०७६ देखि एकतर्फी रुपमा सीमावर्ती टिप्तला भन्ज्याङ नाका बन्द गरेको हो । चीनको बुहान प्रान्तबाट माहामारीका रुपमा कोरोना भाइरस फैलिएसँगै उसले एकतर्फी रुपमा नाका बन्द गरिदिँदा सीमावर्ती क्षेत्र ओलाङचुङगोला, याङ्मा, घुन्सा लगायत एक दर्जन भन्दा बढी गाउँहरु नराम्रोसँग प्रभावित भएका छन् । ओलाङचुङगोलाका स्थानीय समाजसेवी एवम् सीमावर्ती फक्तालुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पा भन्नुहुन्छ चिनियाँ पक्षले सेप्टेम्बर १० तारेख अर्थात भाद्र २४ गतेदेखि टिप्तला नाका खोल्ने जानकारी दिएको थियो । यसका लागि सीमा भन्दा २५ किमी भित्रका नेपालीहरुलाई प्रवेशपत्रको व्यवस्था गर्न भनिएको थियो । सोही बमोजिम नेपाली नागरिकता नभएकाहरुलाई नागरिकता बनाउन आग्रह गरियो । उनीहरुले रातारात सदरमुकाम फुङलिङ आएर नेपाली नागरिकता बनाए । उहाँले भन्नुभयो सीमावर्ती क्षेत्रका बासिन्दा नाका खुल्ने प्रतिक्षामा बसेका थिए । तर चिनियाँ पक्षले एक्कासी प्राविधिक कारण दर्शाउँदै नाका खोलेन ।


ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीयका लागि टिप्तला भन्ज्याङ नाका लाइफ लाइनको रुपमा रहेको छ । नाका खुल्ला हुँदा स्थानीयको जनजीवन सहज थियो । आफूले उत्पादन गरेका घ्यु, जडीबुटी, राडीपाखी, गलैँचा चीनको रिउ काउन्टी बजारमा बिक्री गरी नुन, खाद्यान्न, लत्ता कपडा, औषधि खरिद, गरी फर्कन्थे । शेर्पाका अनुसार नाका बन्द हुँदा स्थानीयका उत्पादन विगत चार बर्षदेखि त्यसै थन्किएका छन् । ताप्लेजुङ सदरमुकामबाट एक केजी चामल ओलाङचुङगोला पु¥याउँदा एक सय रुपैयाँ ढुवानी खर्च हुन्छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलाको दूरी २६ किमी रहेको छ भने ओलाङचुङगोलाबाट याङ्गमाको दूरी पनि त्यति नै रहेको छ । वडाध्यक्ष शेर्पाका अनुसार यही स्थिति अझै केही समय रहने हो भने सीमावर्ती क्षेत्रका बासिन्दासँग बसाई सर्नुको विकल्प रहँदैन ।
यता टिप्तला भन्ज्याङ नाका खुल्ने टुंगो नभएपनि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सीमावर्ती क्षेत्रका स्थानीयहरुलाई प्रस्थान÷प्रवेश अनुमति पत्र वितरण भने शुरु गरेको छ । ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ सहितको कर्मचारीहरुको टोलीले असोज ७ गते ओलाङचुङगोला पुगेर त्यसरी प्रस्थान÷प्रवेश अनुमतिपत्र प्रदान गरेको हो । फक्तालुङ गाउँपालिका वडा नं. ७ को कार्यालयबाट पहिलो दिन अर्थात असोज ७ गते ८८ जनालाई त्यस्तो अनुमतिपत्र वितरण गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।
