धरान । लोकतन्त्र स्थापनापश्चात धरानका पहिलो जननिर्वाचित मेयर स्व. तारा सुब्बाको स्वर्गारोहणपछि उहाँकै स्मृतिमा निर्माण गरिएको स्वर्गीय तारा सुब्बा स्मृति चिल्ड्रेन पार्क अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन भने भएका भौतिक संरचना समेत संरक्षणको अभावमा लथालिंग हुन थालेको छ । अहिले यो पार्क संरक्षणको अभावमा लथालिंग भएको छ । १ विगाहा १९ कठ्ठामा धरान १६ मा निर्माण भएको सो पार्कको संरक्षण नहुनुमा राजनीतिक खिचातानी रहेको स्थानीय तथा पूर्व वडाध्यक्ष दिलकुमार गिरी बताउनुहुन्छ । पार्कमा स्व. तारा सुब्बाको शालिक राखिएको छ । वरिपरि वृक्षरोपण गरिएको छ, बस्ने चौतारी निर्माण गरिएको छ भने बालबालिकाका लागि बाल उद्यान निर्माण गरिएको छ । पार्कको वरिपरि घेराबारा गरिए पनि संरक्षणको भने अभाव खड्किएको छ ।
१६ नंं. वडा समितिले यसको रेखदेखमा चासो दिए पनि सम्बन्धित निकाय धरान उपमहानगरपालिकाले भने चासो नदिएकै कारण संरक्षण हुन नसकेको वडा समितिले जनाएको छ । सम्बन्धित पक्षले वेवास्ता गरेपनि यसलाई निजी क्षेत्रलाई सुम्पिएर १५÷२० बर्षको लागि लिजमा दिएर लगानी प्रवद्र्धन गर्न सकेको खण्डमा उपमहानगरपालिकामा निजी क्षेत्रबाट ट्याक्स आउने, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र संरक्षणको अभावमा लथालिंग नहुने १६ नं. वडा समितिका अध्यक्ष मुरारी प्रसाद भट्टराई बताउनुहुन्छ ।

पार्क निर्माण भएपनि अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आएको छैन । धरानमा रमणीय पार्क धेरै रहे पनि पार्कमध्येको सुन्दर र रमणीय पार्क भएकोले यसलाई सञ्चालन गर्दै संरक्षण गर्ने नीति बनाइएको उपमहानगरपालिकाले जनाएको छ । नीजि क्षेत्रलाई दिनुभन्दा पनि उपमहानगरपालिका आफैले सञ्चालन गर्नका लागि तयारी थालिएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जानकारी दिनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले अध्यक्ष सुब्बा नगर प्रमुखमा निवार्चित हुनु भएको थियो । तेह्रथुम जिल्लाको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका स्व. सुब्बाले २०३७ सालमा धरानको शिक्षा निकेतन विद्यालयमा अध्ययन शुरु गरेपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो । ०५४ को स्थानीय निर्वाचनमा धरान १७ बाट वडा सदस्यमा निर्वाचित भई जिल्ला विकास समितिमा समेत भइसक्नु भएको थियो । सुब्बा ०७४ सालको पहिलो निर्वाचनबाट एमालेका तर्फबाट वहुमतबाट निर्वाचित हुनु भएको थियो । कार्यकाल समाप्त नभइ सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो । स्व. तारा सुब्बालाई धरानेहरुले मिलनसार, विकासप्रेमी मेयरका रुपमा अहिले पनि लिने गरेका छन् । उहाँलाई स्मृति चीरस्मरणकालसम्म सम्झिनका लागि यो पार्क निर्माण भएको हो । तर यो पार्क जुन उद्देश्यका साथ निर्माण भएको थियो अहिले सञ्चालनमा त आएकौ छैन नै त्यसमाथि संरक्षणको अभावका कारण त्यहाँ बनेका भौतिक संरचना नासिने त्रास पनि उत्तिकै रहेको छ । यसको संरक्षणको दायित्व उपमहानगरपालिकाको हो, संरक्षणसँगै उपमहानगरपालिकाले सञ्चालनमा ल्याउनुपर्छ भन्ने व्यापक दबाब जनस्तरबाटै उठ्न थालेको छ ।
