धरान । लामो समयपछि धरान उपहानगरपालिकाको कार्यपालिका बैठक बस्यो । केही एजेण्डामाथि छलफल पनि भयो तर एजेण्डामाथि छलफलभन्दा पनि कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले मेयर साम्पाङलाई आरोप प्रत्यारोप लगाउँदै आक्रमण शैलीमा प्रस्तुत भएका थिए । बैठकको शुरुवातमा नै धरान १७ का वडाध्यक्ष एवम् कार्यपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङ आफ्ना भरौटे, अरौटे कर्मचारी राखेको, धार्मिक सद्भाव भड्किने अवस्था आउँदा समेत त्यसप्रति नगरप्रमुखले गम्भीरत नदेखाएको लगायतका आरोप मेयर साम्पाङलाई लगाउनु भएको थियो । आक्रमण शैलीमा उत्रिनु भएका प्रवक्ता भट्टराईले धरानबाट जातीय तथा धार्मिक सद्भाव भड्किने अवस्था आयो भनेर सिंगो मुलुकको ध्यान धरानतर्फ केन्द्रित हुँदा स्वयम् नगरप्रमुखको ध्यान कतातिर केन्द्रित थियो भन्दै मेयर साम्पाङ समक्ष प्रश्न तेस्र्याउनुभयो । घण्टाघरका दुई जना कर्मचारी उमेर हद्का कारण निष्कासन गर्दा एक बचन कार्यपालिका सदस्यलाई नसोध्ने मेयर साम्पाङले हटाएको विषयमा व्यापक विरोध भएपछि कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने भन्दै प्रवक्ता भट्टराईले हामी तपाईको घरमा राखेको भाडा माज्न मान्छे हौ हटाउनुभन्दा अगाडि छलफल नगर्ने अनि अहिले पुन नियुक्ति दिँदाचाहिँ कार्यपालिकाको निर्णय चाहिने भन्दै मेयर साम्पाङप्रति आक्रोस व्यक्त गर्नुभएको थियो । उहाँले हिजो दलकातर्फबाट मेयर बनेकाहरुले नगरपालिका कार्यकर्ता भर्ति गरेको आरोप लगाउँदै प्रतिबादमा उत्रने अहिलेका मेयर अहिले धमाधम आफैले आफ्ना भरौटेहरुलाई नगरपालिकामा कर्मचारीको रुपमा नियुक्ति गरेको आरोप समेत लगाउनुभयो । उहाँले मयर साम्पाङको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभएको थियो ।

आर्थिक जर्जरताका कारण नगरपालिका टाँट पल्टिन लागेको बताउदै बजेट अभावकै कारण वडामा बजेट नभएको, गत बर्षको दायित्व तिर्न नसकिरहेको अवस्थामा मेयर साम्पाङले भने आफ्ना झोले कार्यकर्ताहरुलाई कर्मचारीकोरुपमा भर्ना गरिरहेको प्रवक्ता भट्टराईले आरोप लगाउनुभयो । उहाँले आगामी निर्वाचनमा मेयर उठ्ने र मेयर साम्पाङलाई जितेर देखाउन चुनौति समेत दिनुभएको थियो ।
प्रवक्ता भट्टराईको सम्पूर्ण आरोप सुनिसकेपछि मेयर साम्पाङले उहाँको कुरालाई खण्डन गर्नुभएको थियो । उहाँले प्रवक्ता भट्टराईले लगाएको आरोप सबै मित्थ्या भएको बताउदै सामाजिक तथा जातीय सद्भाव खल्बिलिने कुरा कहिले आफूले नगरेको बताए पनि आफ्ना भरौटे, अरौटेहरुलाई नगरपालिकका विभिन्न ठाउँमा जागिर दिएको कुरालाई भने उहाँले केही खण्डन गर्नुभएन । स्वतन्त्र उमेद्वारबाट मेयर बन्नुभएका साम्पाङ र कार्यपालिका सदस्य र वडाध्यक्षबीचको द्वन्द्व पहिलो कार्यपालिका बैठकबाट नै शुरु भएको थियो । अहिले पनि त्यो तुष सकिएको छैन । यसैका कारण कार्यपालिका बैठक समेत समयमा बस्न सकिरहेको छैन । तीनमहिनापछि बल्लतल्ल सामेबार बसेको बैठकमा केही एजेण्डामा प्रवेश गरेपनि एकले अर्कालाई आरोप प्रत्यारोप गरेर स्थगित भएको छ । वैठक पुनः बुधबार दिनको २ बजे बस्ने भनिए पनि बुधबार बस्ने बैठकमा पनि एजेण्डाले प्रवेश पाउने भन्दा पनि एक अर्कामा आरोप प्रत्यारोप गरेर समय व्यथित हुने सम्भावना देखिएको छ ।
