धरान । धरानमा डेंगु संक्रमण बढ्दै गएको छ । संक्रमण न्यूनिकरणका लागि डेंगुको लार्भाको बासस्थान नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड डिस्ट्रोयलाई समेत निरन्तता दिएका छन् । तर पनि डेंगु संक्रमण न्यूनिकरणको सट्टा बढ्दै गएपछि सबैको चासो बढेको छ । आइतबार धरान उपमहानगरपालिकाले अभियानकै रुपमा २० वटै वडामा एकै पटक सञ्चालन गरेको सर्च एण्ड अभियानमा प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, धरान उपमहानगरपालिकाका जनप्रतिनिधि, २० वटै वडाका टोल विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
धरानमा ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नु पूर्व आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्टिूय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिका, २० वटै वडाका वडाध्यक्षहरु, टोलविकास समितिका सदस्यहरुले एकै पटक आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छन् । जनस्तरबाटै सचेतना जगाउदै यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने उद्देश्य अनुरुप सबैको उपस्थिति रहेको हो ।

गत साउन १७ गते समेत २० वटै वडाबाट गरिएको सर्ज एण्ड डिूस्ट्रोय केही प्रभावकारी भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट २८ गते आइतबार पनि लार्भा खोजेर नष्ट गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतबार सर्च एण्ड डिस्ट्रोय अभियान जनप्रतिनिधिमात्र हैन सरोकारवाला पक्षको समेत उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ७७ जिल्लामध्ये ७१ जिल्लामा डंगु संक्रमण पाइएको बताउदै त्यसमा पनि सुनसरीको धरान उपमहानगरपालिका डेंगु संक्रमणको जोखिम क्षेत्रभित्र पर्ने बताउनुभयो । उहाँले साउनको १९ गतेका बसेको सर्वपक्षीय वैठकको निर्णय र साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले धरान उपमहानगरपालिकालाई डेगु संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गर्न गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई सिफारिस गरेर पठाइसकिएको बताउनुभयो । आपत्तकालीन घोषणापछि डेंगु नियन्त्रण अन्तर्गतको सर्च एण्ड डिस्ट्रोय, उपचारको सवाल लगायतका सहज हुने उहाँको भनाई छ ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले धरानमा डेंगु संक्रमण अत्याधिक बढेकोले जनस्तरबाटै सक्रिय भएर यसको लार्भा नष्ट अभियानलाई तिब्रता नदिएसम्म नियन्त्रण नहुने बताउनुभयो । सर्वसाधारण सचेत नभएकै कारण अहिले धरानमा डेंगु संक्रमण बढेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले बताउनुभयो । विभिन्न ठाउँमा जमेको पानीमा लार्भा हुने कुरा थाहा हुदाहुदै पनि सरसफाइमा ध्यान नदिने, जानेको कुरा व्यावहारमा लागू गर्ने जस्ता हेलचेक्र्याईका कामहरु जनस्तरबाट भएका कारण स्थानीय सरकारले चलाएको अभियानले सार्थकता नपाएको उहाँको आरोप छ । कसैको मुख नताकी जनस्तरबाट नै लार्भा नष्ट गर्ने अभियानमा लाग्न मेयर साम्पाङले सबैलाई आग्रह गर्नुभयो ।
धरानमा मात्र अहिलेसम्म डेंगु संक्रमणकै कारण १० जनाको मृत्यु भइसकेको छ । अहिलेको अवस्थामा धरानमा १ सय जनालाई चेक गर्दा ७१ जनामा डेंगु संक्रमण भएको पाइएको छ । अर्थात धरानमा अहिले ७१ प्रतिशतको रेसियोमा डेंगु संक्रमण भएको पाइएको छ । धरानमा १० हजार भन्दा बढी डेंगु संक्रमणका रोगीहरु रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकमा छ । डेगु नियन्त्राका लागि साउन १५ गतेदेखि धरान ८ सभागृहमा परीक्षणसहित उपचार गर्दै आएको छ । यस्तै धरान १ छाताचौकमा रहेको पुरानो अस्पतालमा चिकित्सकसँग सिविसी चेकजाचको ल्याब र उपचारका लागि वेड राखिएको छ । यसबाहेक धरान १३ र धरान १४ ले पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ भने सुनसरी उद्योग वाणिज्य संघमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एचडिसी प्रोगाम तथा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जिप शर्माको टोलीबाट निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदै आएको छ । तर पनि डेंगु संक्रमण घटेको छैन ।
