मलमासका कारण मन्दिर सुनसान

धरान । यो बर्षको साउन महिना एक महिनाभरि मलमास रहेको छ । मलमासको प्रभाव धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा परेको छ । मलमासका समयमा पूजाआजा गर्दा शुभ नहुने जनविश्वास रहेका कारण मठ मन्दिर सुनसान भएका हुन् । साउनको महिना बोलबमको महिना । अन्य बेला धरान १४ विजयपुरमा रहेका मठमन्दिर भरिभराउ हुन्थे । पूजाआजा गर्ने र बलि चढाउनेको लाइन त्यतिकै हुन्थ्यो तर यो बर्ष त्यस्तो छैन । मन्दिरहरु सुनसान छन् । सधै पूजाआजा र बली चढाउनेको भीड रहेको बुढासुब्बा मन्दिर यस बर्ष मलमास र साउनको समयमा बलि चढाउन बन्देज लगाएका कारण सुनसान देखिएको हो । मन्दिरका पूजारी पुष्प आलले मगरले बुढासुब्बा मन्दिरमा साउनभरि बलि नचढाउदा कम भक्तजन आउने गरेको बताउदै यस बर्ष त झन मलमास परेका कारण मन्दिर सुनसान भएको बताउनुभयो । उहाँले साउन महिना एक महिना, सोह्र श्राद्धमा १६ दिन, एकादशी, औँशी, रामनवमी, कृष्ण अष्टमी, शिवरात्रीमा बुढासुब्बामा बलि नचढ्ने बताउनुभयो । मलामासका समयमा फाट्टफुट्ट पूजाआजा गर्ने बाहेक बलि चढाउन आउनेको संख्या शून्य हुने गरेको उहाँको भनाई छ ।


विशेष गरेर बुढासुब्बामा मंगलबार र शनिवार बलि चढाउने र पूजाआजा गर्नेको संख्या अत्याधिक हुने गर्छ । यी दुई बार बलि चढाउँदा राम्रो फल प्राप्त हुने जनविश्वास रहि आएको छ । यो मन्दिरमा नेपाल लगायत भारतका विभिन्न स्थानबाट पूजाआजा तथा बलि चढाउन भक्तजनहरु आउने गरेका छन् । तर अहिले मन्दिर सुनसान हुँदा मन्दिरबाट आश्रित परिवारलाई समेत समस्या परेको छ । विशेष गरेर मन्दिरको प्रांगरणमा फूलमाला बेचेर जिविकोपार्जन गर्नेहरुलाई गुजारा चलाउन नै समस्या भएको छ । मन्दिरको प्रांगरणमा धेरै बर्षदेखि फूलमाला बेजेर गुजारा गर्दै आउनु भएकी सर्मिला क्षेत्रीले साउन महिना लागेदेखि भक्तजन कम आएको र विक्री कम भएको बताउनुभयो । उहाँमात्र हैन मन्दिरको प्रांगरणमा फूलमाला बेचेर गुजारा चलाउने करिब २० वटा पसलको हालत यस्तै छ । विगत २५ बर्षदेखि बुढासुब्बा मन्दिर प्रांगरणमा फूलमाला व्यवसाय गर्दै आउनु भएका गणेश श्रेष्ठले आफूले व्यापार गरेदेखि अहिलेजस्तो सुनसान कहिल्यै नभएको बताउनुभयो । अन्य बेला दैनिक दुई चार हजार विक्री भए पनि अहिले भने दुई चार सय मात्र विक्री हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया