कुर्था–विजलपुरामा रेल सञ्चालन

धनुषा । भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्र्माण भएको जयनगर–विजलपुरा–बर्दिबास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–विजलपुरा रेल खण्ड आइतबार देखि सञ्चालनमा आएको छ ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरामा आयोजित एक विशेष समारोहका बीच जयनगर–विजुुलपुरा–बर्दिबास अन्तदेशी रेलमार्ग अन्तर्गतको कुर्था–विजलपुरा रेल खण्डको समुद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल स्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, मधेश प्रदेशका विभिन्न राजनैतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, ठूलो सं्ख्यामा स्थानीय दलका प्रतिनिधि, ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।


नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको जेष्ठ १७ गते देखि २० गतेसम्म भएको भारत भ्रमणका क्रममा नेपाल सरकारलाई कुर्था–विजलापुरा रेलखण्ड हस्तान्तरण गरिएको थियो । कुल १७.३ किलोमिटर लम्बाई रहेको कुर्था–बिजलापुरा खण्डमा कुर्र्था–पिपराडी, लोहारपट्टी, सिंग्याही र विजलपुराका गरी ५ वटा स्टेशनहरु रहेका छन् । भारतीय रुपैया कुल ७८३.८३ करोडको लागतमा उक्त रेलखण्डा निर्माण भएको थियो । यो रेल खण्ड जयनगर–विजलापुरा–बर्दिबास अन्तरदेशीय परियोजनाको दोस्रो खण्ड हो । जयनगरदेखि कुर्थासम्मको पहिलो चरण गत बर्ष चैत्रमा उद्घाटन भई सञ्चालनमा आइसकेको थियो । विजलापुरादेखि बर्दिबास जोड्ने् तेस्रो चरणको कामका लागि जग्गा अधिग्रहणको प्रक्रिया भइरहेको छ । सो अवसरमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भन्नुभयो रेल क्षेत्र सहित नेपालको पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोग रहँदै आएको छ । उहाँले रेल कनेक्टीभिटीले दुई देशका जनता बीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपालको व्यापार, पर्यटन, प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । यसैगरि भारतीय राजदुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको छ । भारत सरकारको छिमेकी पहिलो नीति अन्तर्गत सम्पन्न उक्त परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायति र द्रुत यातायातको व्यवस्था भएको समेत उहाँले प्रस्ट्याउनुभयो ।

तपाईको प्रतिक्रिया