काठमाण्डौ । भारत सरकारको ५ करोड अनुदान सहयोगमा निर्माण सम्पन्न भएको काठमाण्डौको बुढानिलकण्ठस्थित धर्मशाला (अथिति भवन) को गत हप्ता उपराष्ट्रपति राम सहाय प्रसाद यादवले समुद्घाटन गर्नुभएको छ । ्नेपालका दूर दराज र अन्यत्रबाट आउने हिन्दु धर्मालम्बीहरुले उचित बासस्थानको अभावमा बुढानिलकण्ठ परिसरमा यत्रतत्र रात विताउनुपर्ने बाध्यता अब सुविधा सम्पन्न धर्मशालाको निर्माणले हटेर गएको छ । काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ स्थित निर्माण सम्पन्न भएको भवनको उद्घाटन समारोहमा बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधि सभाका सांसद गगनकुमार थापा, प्रदीप पौड्याल, भारतीय राजदुतावास काठमाण्डौका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित लगायतको समुपस्थिति रहेको थियो । नेपालस्थित भारतीय राजदुतावासले एक विज्ञप्ती प्रकाशित गरी नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भुकम्प पछिको पुननिर्माण अनुदान सहयोग अन्तर्गत धर्मशाला निर्माण गरिएको जनाएको छ । वि.सं. २०७२ सालको भुकम्पले क्षति पु¥याएका सम्पदाहरुको संरक्षण एवम् पुन निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानिलकण्ठ मन्दिरको पुननिर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास), सहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

विज्ञप्तीमा अगाडि भनिएको छ नव निर्मित साढे तीन तले धर्मशालाले बुढानिलकण्ठ मन्दिरमा आउने हजारौ तीर्थयात्रीलाई सेवा प्रदान गर्नेछ । नेपालको पवित्र एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानिलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ । परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भुकम्पपछिको पुन निर्माणमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्दछ । उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भुकम्प पछिको पुन निर्माणमा भारत सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्नुभएको थियो । भारत सरकारले नेपालको सात वटा जिल्लामा रहेका २८ वटा साँस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । यसका अतिरिक्त भुकम्प पछिको पुननिर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा नीजि घर पुन निर्माण, ८ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सेवा पुन निर्माणका लागि सहयोग पु¥याएको विज्ञप्तीमा जनाइएको छ ।
