धरान । पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै गएको छ । विगतमा दुई दिनसम्म पैदलै हिडेर पुग्ने ठाउँमा सवारी साधन पुगेका छन्, अस्पतालको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले कम छ तर पनि पहाडी क्षेत्रत्राट तराईतर्फ सुविधाको खोजी गर्दै बसाई सर्ने क्रम भने रोकिएको छैन । तेह्रथुमको लाली गुरास नगरपालिका गाविसबाट नगरपालिका बनेपछि विकासले फड्को मार्दै गएको छ । भौगोलिक विकटता भएको सो नगरपालिकाका वडासम्म पुग्न पैदल हिड्नुपर्ने अवस्था थियो, तर अहिले गाउँगाउँमा सडक सञ्जालले छोएको छ भने नगरपालिकाले नगर बस नै सञ्चालन गरेको छ । अहिले त्यहा १० बेडको अस्पताल समेत निर्माण हुदै गएको छ । पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगेको नगरपालिकाले चोत्लुङ पार्क लगायतका पार्कहरु निर्माण गरिएको छ । तर पनि बसाई सराई भने अझै नरोकिएको नगरपालकाकाले जनाएको छ ।


लालीगुरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले पर्यटकीय स्थलको विकाससँगै आर्थिक, सामाजिक, शैक्षिक रुपमा विकास हुँदा पनि बसाइ सर्ने क्रम भने नरोकिएको बताउनुभयो । उहाँले बस्नका लागि उच्च स्तरको शिक्षा, स्वास्थ्य र रोजगारको प्रवद्र्धन मिलाउने आश्वासन दिँदा समेत गाउँबाट तराईका विभिन्न जिल्ला लगायत काठमाण्डौ बसाई सराई गर्ने क्रम नरोकिएको बताउनुभयो ।
९ वटा वडा रहेको यो नगरपालिकामाका सर्वसाधारण अधिकांश कृषि पेशामा आश्रित छन् । नगरपालिकाले कृषिको क्षेत्रमा धेरै कामहरु अगाडि बढाएको छ । तर सरकारले बजेट बनाउँदा गाउँकेन्द्रित बजेट नबनाउने गर्दा गाउँको विकास हुन नसकेकै कारण बर्षेनी बसाई सराइको अवस्था भयावह बन्दै गएको उहाँको भनाई छ । अहिले गाउँगाउँमा सडक सञ्जाल बनेको भएपनि बनेका सडकहरुले सिधै सहरसँग जोड्ने् काम गरेकोले बसाई सर्नेलाई झन सहज बन्दा बसाई सराई बढेर गएको उहाँको बुझाई छ । सरकारले गाउँमा प्रशासनिक व्यवस्था लागू नगरुन्जेल गाउँको विकास हुन नसक्ने बताउनुभयो । बसाई सराई गरेर जानेहरुहरुले आफू जन्मेको स्थानको विकासका लागि केही गर्न सके उसलाई गाउँको माया हुने र पुन ः गाउँ फर्किएर आउने सम्भवना हुने उहाँको भनाई छ । गाउँबाट सहर बसाई सर्नेलाई महिनादेखि दुई महिनाभित्रमा एकपटक गाउँ आउने, बाझो छोडेर गएका खेतीमा उब्जनी गराउने काम गरे गाउँको विकाससँगै बसाई सराई पनि कम भएर जाने उहाँको तर्क छ ।
पहाडी क्षेत्रका विभिन्न जिल्लाबाट बसाई सराई गर्नेको संख्या भवावह छ । तेह्रथुमको लालीगुरास नगरपालिकाबाट पनि बसाई सर्ने क्रम अत्याधिक छ । स्थानीय सरकारले यसलाई रोक्न सकेको छैन । बसाई सराई गर्नेको तथ्यांक नगरपालिकामा नभए पनि बार्षिक २० देखि २५ परिवार नगरपालिकाबाट तराईका जिल्ला लगायत काठमाण्डौ बसाई सर्ने गरेका छन् ।
